मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ।
स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्ने क्रममा सोमबार बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोज कुमार यादवलाई होटलमा मुख्यमन्त्री नियुक्त गरि सपथ खुवाएपछि नारावाजीसहित तोडफोड गरिएको हो।
प्रदेश प्रमुख भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपाका सांसद र कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्।
संविधान र कानूनको विपरित प्रदेश प्रमुखले मुख्यमन्त्रीमा एमाले नेता यादवलाई नियुक्ति गरेको जानकारी पाएलगत्तै कांग्रेस, जसपा, लोसपाका कतिपय सांसद तथा कार्यकर्ता प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा पुगेर तोडफोड र हातपातमा उत्रिएका थिए।
यसरी तोडफोड र आक्रमण गर्ने क्रममा मुख्यमन्त्रीको कार्यालयमा पुगेका आक्रोसित सांसद तथा समर्थकले कार्यकक्षमा राखिएका गमला, फाइल, कम्प्युटर तोडफोड गर्न थालेपछि एक कर्मचारीले कम्प्युटरको सिपियु जोगाउने क्रममा लिएर भाग्दै गर्दा उनको टाउको र ढाडमा मुक्का हान्दै लखेटेका थिए।
सोही क्रममा सर्लाहीबाट निर्वाचित कांग्रेस सांसद विरेन्द्र सिंहले मुख्यमन्त्रीको कुर्सी पछाडी राखिएको नेपालको राष्ट्रिय झण्डा उठाएर भूइमा बजार्दै फालिदिएर राष्ट्रिय झण्डाकै अपमान समेत गरेका छन्।
सर्लाही जिल्ला क्षेत्र नम्बर ४ का प्रदेश सांसद एवम् अघिल्लो संसदमा मन्त्री समेत बनेका विरेन्द्रले राष्ट्रिय झण्डा उठाएर फालेपछि उनीसँगै रहेकी एक महिलाले उनलाई हप्काएर सम्झाउँदै यो हाम्रो झण्डा हो किन फालेको भन्दै बाहिर पठाउन खोजेको भिडियो मधेस खबर अनलाइनमा प्रष्टै देखिन्छ।
उक्त महिलाले राष्ट्रिय झण्डा फालेको विषयमा कराएपछि फर्किएर सांसद सिंहले उल्टै हप्किदक्की गर्न कोशिश गरेका थिए भने बाँकी अन्य व्यक्तिहरुले त्यहाँ राखिएका कुर्सी, अन्य सामाग्री उठाएर फाल्दै तोडफोड गरेका थिए।
राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान सम्बन्धी कार्यविधि २०६९ को बुँदा नम्बर ११ को (ग) ले राष्ट्रिय झण्डा फ्याँक्न, जलाउन, कुनै सामान पोको पार्न निषेध गरेको छ।
मधेस खबरको भिडियोमा राष्ट्रिय झण्डा फालेर झण्डाको अपमान गरेको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना हुनथालेपछि कांग्रेस सांसद सिंहले आफ्नो फेसबुकमार्फत झण्डा लिएर राख्दै गरेको फोटो राखेर आफूले झण्डालाई सुरक्षित गर्ने उद्देश्यले वालको साइडमा राख्ने क्रममा गरेको कार्यलाई आफ्ना विरुद्ध भ्रामक समाचार प्रसारित गरिएको भन्दै सफेद झुटमार्फत बजाउको असफल प्रयास गरेका छन्।



