हिमाल दैनिक
निवर्तमान गृहमन्त्री लेखक भन्छन्ः भदौ २३ गतेको आन्दोलनमा गोली चलाउन आदेश दिइएकै छैन

निवर्तमान गृहमन्त्री रमेश लेखकले नवयुवा (जेन–जी) आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश नदिएको दावी गरेका छन्।

सोमबार भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ तथा छानविन समितिमा बयान दिएपछि कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेन–जी आन्दोलनका क्रममा गोली चलाउन आफु कुनै लिखित वा मौखिक आदेश नदिएको बताएका हुन्।
उनले आन्दोलनलाई दमन गर्न गृहमन्त्रीले गोली चलाउन आदेश दिनुपर्ने कानुनी व्यवस्था समेत नरहेको बताए।

भाद्र २३ गते भएको घटनाका कारण मर्माहित भएर पदीय मर्यादाको नैतिकताका आधारमा आफुले पदबाट राजीनामा दिएको उनको भनाई छ।

लेखकले जेनजी आन्दोलनको अघिल्लो दिन गृहमन्त्रीको हैसियतले क्याजल्टी र कुनै व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिन सुरक्षा निकायलाई पटक पटक निर्देशन दिएको दावी पनि गरे। यसका बाबजूद शान्तिपूर्ण तबरले नवयुवाहरुले भदौ २३ गते अपरान्ह माइतीघरमा आयोजना गरेको जनप्रदर्शन एकाएक अरु कसैले हाइज्याक गरेपछि आन्दोलनकारी युवाहरु घुसपैठ भएको भन्दै घर फर्किएको बताए।

भाद्र २४ गतेको घटनामा घुसपैठ भएपछि हिंसात्मक घटना भएको भन्दै लेखकले जाँचबुझ आयोगमा मौखिक प्रश्नको जवाफका साथै लिखित बयान बुझाएको जानकारी दिए।

लिखित बयानमा लेखकले मुलुक र लोकतन्त्रका लागि जीवन पर्यन्त राजनीतिमा होमिएका पार्टी, नेता र कार्यकर्तालाई लाञ्छित गर्ने, उनीहरुमाथि भौतिक आक्रमण गर्ने र सम्पत्ति नष्ट गर्ने काम क्षमायोग्य नभएको उल्लेख गरेका छन्।
यस विषयमा पनि आयोगले उचित छानवीन गरी सत्य, तथ्य पत्ता लगाउने उनले माग गरे।

लेखकले स्थानहद र राहदानी रोक्का गरेको बिषयमा लिखित वा मौखिक जानकारी नदिएको भन्दै बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्था विपरीत भएको गुनासो गरे।

भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानविन गर्न सरकारले असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ। 

 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update