नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अधिवेशन गर्ने नाउँमा आन्तरिक प्रतिस्पर्धाको नकारात्मक प्रभाव आम निर्वाचनमा निम्त्याउने पक्षमा आफू नभएको स्पष्टोक्ति दिएका छन्।
आफ्नो निवासमा मंगलबार भेट्न पुगको केही पत्रकारहरुसँगको अनौपचारिक कुराकानीपछि केही औपचारिक प्रतिक्रिया दिन गरेको आग्रहमा आग्रहमा सभापति देउवाले आसन्न निर्वाचनमा पार्टीलाई के कसरी सफलता दिलाउने भन्नेमा अव आफू गम्भीर भइरहेको बताए।
उनले भने, ‘अधिवेशन गर्दा वडादेखि क्षेत्र र केन्द्रसम्म एउटाले अर्कोलाई हराउने र जिताउने क्रममा भएको आन्तरिक प्रतिस्पर्धाले आपसी मनमुटाब बढाउँछ। त्यसको असर निर्वाचनमा पर्दैनरु अवश्य पर्छ नि!’
आफूले स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर पार्टीलाई आवश्यक रायसुझाव मात्रै दिएर बसेको उनको भनाई छ।
सभापति देउवाले निर्वाचन अघि अधिवेशन गर्नु उचित नभएको सुझाव आफूले नेताहरुलाई पनि दिइरहेको बताए।
विशेष अधिवेशनले पार्टीमा थप द्वन्द्व निम्त्याउने भएकाले त्यसको पक्षमा आफू नरहेको स्पष्ट पारे। ‘यसका प्रक्रियागत जटिलता र त्यसले पार्नसक्ने दूरगामी असरका कारण विशेष महाधिवेशनको मागको पक्षमा म छैन,’ देउवाले भने।
कांग्रेसको १५औं महाधिवेशनमा आफू तेस्रो कार्यकालका लागि प्रत्यासी नभएको घोषणा महिनौँअघि गरिसकेका देउवाले आफ्नो उत्तराधिकारीका रुपमा कुन नेतालाई सघाउनु हुन्छ भन्ने प्रश्नको जवाफ तत्काल खुलाउन चाहेनन्। तर उनले कार्यवाहक सभापति स्वभाविक आकांक्षी भएको बताए।
‘अहिले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएकोले मात्रै होइन, उनी स्वयं पनि निर्वाचित उपसभापतिको हैसियतले सभापतिको आकांक्षी बन्नु स्वभाविक छ,’ उनले भने। यसका अतिरिक्त गत अधिवेशनदेखि नै आफूलाई साथ र समर्थन गर्दै आएका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शसांक कोइराला० लगायतका नेताहरु पनि आकांक्षीका रुपमा रहँदै आफ्नो साथ र समर्थन खोजिरहे पनि ‘तत्काल यसैलाई मेरो समर्थन छ’ भनेर भनिहाल्ने स्थिति बनिनसकेको देउवाको भनाइ छ।
आफूसँग महामन्त्री गगनकुमार थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई साथमा लिएर सभापतिमा समर्थन खोज्दै आएपनि केही प्रतिक्रिया नदिएका मात्रै होइन, पार्टी नेता शेखर कोइराला, जो उम्मेदवारका आकांक्षी बन्छु भनिरहकोछन्, उनले आफूसँग केही नभनेको बताए। तर, देउवा आफैले भने सहयोग माग्ने देखि नमाग्नेसम्मलाई बराबर दुरीमा राख्दै कसैका पक्षमा नखुल्ने रणनीति बनाएका छन्।
‘अधिवेशन सुरु भएपछि को–को उम्मेदवार बन्छन् र विधानको प्रावधान बमोजिम पहिलो चरणबाटै सभापति चयन हुन्छ कि दोस्रो चरणमा जान्छरु यसै भन्न सकिने अवस्था छैन,’ देउवाले भने। त्यही कारण आफू उपयुक्त समयमा आवश्यकता अनुसार निर्णय लिने बताएका छन्।
देउवाले आफ्नो अभिभावकीय भूमिकामा सबै समान र सबैमा सम्मान रहेको पनि बताए।
‘यदि महाधिवेशनबाट पहिलो चरणमै परिणाम आयो भने मैले किन सहयोग वा असहयोग गर्नुपर्यो?,’ देउवाको प्रतिप्रश्न थियो।
यसका अतिरिक्त आफू सभापतिको प्रत्यासी नबनेको अवस्थामा देशभरीबाट आउने सबै महाधिवेशन प्रतिनिधिले जहाँ भन्यो त्यही भोट हाल्ने वा नहाल्ने उनीहरुको रोजाई र अधिकारमा भर पर्ने उनको भनाइ छ। ‘मैले भनेर मात्रै त हुँदैन नि१ मेरो खुशीले छानेको उम्मेदवारलाई देशभरीबाट आउने प्रतिनिधिले भोट हालिदिन्छन् भन्ने त हुन्न,' उनले भने, ‘त्यसैले म कसैका पक्षमा अहिले खुल्दिन। समय आएपछि बोलौंला र गरौँला नि!’
तपाईंको समूहबाट खड्क कि कसलाई समर्थन हुन सक्छ त भन्ने जिज्ञासाको जवाफमा पनि उनले कुटनीतिक शैली अपनाए।
‘नेतृत्व हस्तान्तरणको प्रक्रियामा कार्यबाहक सभापतिको जिम्मेवारी दिएर बसेको व्यक्तिले अहिले नै उम्मेदवार तोक्दै हिँड्न मिल्छ वा बोल्न मिल्छ र?’ उनको प्रश्नवाचक जवाफ थियो।
‘कोइरालाको नासो कोइरालालाई नै सुम्पिन्छु’ भनेर विगतमा भनेका भनाइबारे राखेका जिज्ञसामा उनले बीपी कोइरालाले नै पार्टी बनाएको बताए।
देउवाले भने, ‘कांग्रेस पार्टी स्वर्गीय नेता बीपी कोइरालाले नै बनाउनु भएको हो नि! उहाँकै प्रेरणाले म राजनीतिमा लागेँ। पछि गिरिजावावुको सहयोगीका रुपमा पनि काम गरेँ। बिचमा कुरा नमिलेपछि झगडा पनि गरेको मान्छे हुँ?’
०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग विवाद चर्किएपछि बेग्लै पार्टी बनाएर अघि बढेका देउवाले विगतको तितामिठा अनुभव सुनाउने क्रममा भने, ‘पछि फेरि उहाँले नै लोकतन्त्र बलियो पार्न एकै ठाउँमा बसौँ भनेर बोलाउनु भयो र पार्टी मिलायौँ।’
आफ्नो कसैसँग प्रेम वा घृणाको राजनीतिक सम्बन्ध नरहेको उनको भनाई थियो ।



