हिमाल दैनिक
मेलमिलाप दिवसकै दिन द्वन्द्व र विभाजनको विजारोपण, महामन्त्रीद्वारा विशेष महाधिवेशनको आह्वन!
file photo

आज राष्ट्रिय एकता र मेलमिलापको दिन। आजभन्दा ठिक ४९ वर्ष अगाडि आफूविरुद्ध मृत्युदण्डका ८/८ वटा मुद्दा अदालतमा चलिरहेको अवस्थामा पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै निर्वासनबाट स्वदेश फर्किएको दिन।

यही दिनको स्मरण गर्दै विगतका वर्षहरुमा कांग्रेस पार्टी र यससँग आबद्ध संघसंस्थाहरुले विगतका वर्षहरुमा केन्द्रदेखि तल्लो तहसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै ‘राष्ट्रिय एकता र मेलमिलाप’ दिवस मनाउने गर्दथे।

निर्वासित जीवन त्यागेर बीपी लगायतका नेताहरु स्वदेश फर्किएको ठिक ४९ वर्षपछि बुधबार भने यस पार्टीका महामन्त्री गगनकुमार थापाले नै पार्टीभित्र मेलमिलापको नीति विपरित आन्तरिक द्वन्द्ध र विभाजनको विषयुक्त विजारोपणको घोषणा गरेका छन्।

मेलमिलाप दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै महामन्त्री थापाले पुस मसान्तभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको घोषणा गर्दै पछिल्लो समय आमनिर्वाचनको चटारोले मत्थर भएजस्तो देखिएको अधिवेशनको विवाद चर्काउने स्पष्ट संकेत दिएका हुन्।

787181767172279.jpg

उनले भनेका छन्, ‘हामी पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरुलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।’

गत असोज २८ गतेदेखि सुरु भएर बल्लतल्ल मंसिरको १५ गतेसम्म पार्टीको नियमित अधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादलाई सुल्झाउँदै पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने हचुवा र अव्यवहारिक कार्यतालिका पारित गरेपनि उक्त कार्यतालिका बमोजिम प्रारम्भिक कार्य अर्थात क्रियाशील सदस्यता वितरणको प्रक्रिया समेत टुंगिन सकिरहेको छैन। 

क्रियाशील सदस्यता वितरण सम्बन्धी सदस्यता व्यवस्थापन समितिका संयोजक स्वयं महामन्त्री थापा रहेको र उनीसहित पार्टी मुख्यालयले समयमा विवादरहित ढंगले सदस्यता फारम वितरण गर्न नसकेपछि महाधिवेशनको सम्पूर्ण कार्यतालिका नै प्रभावित हुन पुगेको थियो। 

यहिबिचमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फको समानुपातिक प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूचि बुझाउनुकासाथै आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूचि बझाउन तल्लिन हुनुपर्ने पार्टी र यसका जिम्मेवार पदाधिकारीमध्ये प्रमुख मानिने महामन्त्री थापाको पछिल्लो उद्घोषले कांग्रेसभित्र नयाँ विग्रह र विद्रोहको आशंका बढाएको छ।  

यदि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भन्दैआएअनुसार पार्टी कार्यालयमा एकपक्षिय ढंगले विशेष महाधिवेशनको आह्वान र आयोजना भएको खण्डमा पुसपछिका दिनका कांग्रेस संग्लो रहने सवालमा त कुरै छाडौं कांग्रेसीबिचको सम्बन्धमा पनि मेलमिलापको विपरित मल्लयुद्दको थालनी भयो भने अनौठो नमाने हुन्छ। 

 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update