हिमाल दैनिक
कांग्रेसभित्रको द्वन्द्ध उत्कर्षमा पुग्दै, कार्यसम्पादन समितिले सक्ला त समाधानको उपाय खोज्न?
file photo

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले एकाएक विज्ञप्तिमार्फत विशेष महाधिवेशनको आह्वानसँगै तिथि, मिति र स्थानको तय गरेपनि उत्पन्न संकटको समाधान खोज्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।  

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिबार साँझ विज्ञप्तिमार्फत शुक्रबार अपरान्ह ३ बजेका लागि केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाएको भन्दै पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन भनेपछि अहिले कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरु सानेपामा उपस्थित हुँदैछन्।

गत भदौ २३ गतेको नवयुवाहरुको शान्तिपूर्ण आन्दोलनमा भड्कीएको हिंसा र त्यसको आडमा २४ गते देशव्यापी रुपमा मच्चिएको हिंसात्मक विध्वंश लगत्तै कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले नयाँ परिस्थितिमा पार्टीलाई रुपान्तरण गर्न नेतृत्व परिवर्तनलाई पहिलो सर्त बनाउँदै मंसिरभित्रै नियमित महाधिवेशन र त्यो नभए विशेष महाधिवेशनको आह्वान गर्दै महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गराएका थिए।

यसरी संकलित हस्ताक्षरमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर रहेको भन्दै महामन्त्रीद्वयको अभियानका अभियन्ताहरुले उक्त हस्ताक्षरसहितको मागपत्र कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।

तर, असोज २८ देखि मंसिर १५ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्तावले औपचारिक प्रवेश नै पाएन। त्यसको विकल्पका रुपमा पार्टीले महामन्त्रीहरुकै प्रस्ताव बमोजिम पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा पार्टीको १५औं महाधिवेशन गर्ने निर्णयसँगै त्यसको सम्भावित कार्यतालिका पनि पारित गरेको थियो।

यसका बाबजूद महामन्त्री थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले समयमै जिल्ला, क्षेत्र र वडामा क्रम संख्यासहितको क्रियाशील सदस्यता फारम नपठाई विवाद बल्झाएपछि क्रियाशील सदस्यता वितरणको प्रक्रिया प्रभावित हुन पुगेको थियो।

यसरी पठाइएका क्रियाशील सदस्यता फारम केन्द्रमा समयमै आउन र विवादित सदस्यताको विषयमा क्रियाशील सदस्यता छानविन समितिले छानविन गरी निर्वाचन समितिमा बुझाउने कार्यको सुरुवात नै हुन नसकेपछि पुस १६ गतेबाट सुरु हुने भनिएको वडा अधिवेशन पनि प्रभावित हुन पुगेको थियो।

त्यसको भालिपल्ट पुस १७ गते महामन्त्रीद्वय थापा र शर्माले पार्टी नेतृत्वले निर्धारित समयमा महाधिवेशन गराउन तयार नदेखिएको भन्दै एकाएक महाधिवेशनको सम्पूर्ण कार्यतालिका स्थगित गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशनको आयोजना हुने घोषणा गरेका थिए।

यसरी पार्टीको वैधानिक निकायबाट कुनै निर्णय नै नगरी महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशनमा अघि बढेको भनेपछि पार्टी सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुले पार्टीभित्र चुलिँदै गएको सम्भावित विभाजनको खाडललाई पुर्ने प्रयासस्वरुप आजका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

उक्त बैठकमा सभापति देउवासँगै नेता शेखर कोइराला पक्षका सदस्यहरुले महाधिवेशनको कार्यतालिका बमोजिम प्रक्रिया अघि बढाउने कार्यमा महामन्त्रीको क्रियाशील सदस्यता वितरण प्रक्रियामा भएको आलटाल र अनावश्यक विवादलाई कारण देखाउँदै उनीहरुले महाधिवेशन गराउन नचाहेको आरोप लगाएर पार्टीको सम्पूर्ण ध्यान अब फागुन २१ गतेको निर्वाचनमा केन्द्रित गर्ने तयारीमा लागेका छन्।

उता विशेष महाधिवेशन आयोजनाका पक्षधरहरुले नियमित महाधिवेशन स्थगित भएको अवस्थामा विशेष महाधिवेशनको विकल्प नभएको भन्दै सभापति देउवामाथि दबाब दिने रणनीति अपनाउँदैछन्। यसका अतिरिक्त महामन्त्रीद्वयले कार्यबाहक सभापति खड्का र नेता कोइरालालाई फकाउने र देउवालाई धम्क्याउने रणनीतिमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिक र प्रत्यक्ष तर्फ आफ्नो समूहका बढिभन्दा बढि सदस्यलाई स्थान सुरक्षित गराउने रणनीतिको अवलम्बन गरेको सभापति देउवा पक्षिय नेताहरुको बुझाई छ।

जसको कारण देउवा पक्षले पनि महामन्त्रीद्वयको रणनीतिलाई के कसरी हुन्छ विफल बनाउने आन्तरिक तयारी गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update