कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्ने ६ जना नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले आफूहरुले यसअघि गरेको हस्ताक्षर विशेष महाधिवेशनको प्रयोजनका लागि नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन्।
कैलालीबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरु कर्णबहादुर चौधरी, दिपा कडायत, रंगबहाुदर सुनार, प्रेमबहाुदर विष्ट, शिवा थापा र विसुदेवी बडुवालले बिहिबार एक विज्ञप्तिमा हस्ताक्षर गर्दै पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा उनीहरुको पक्षले बोलाएको विशेष महाधिवेशनमा आफ्नो साथ र समर्थन नरहेको स्पष्टोक्ति दिएका हुन्।
उनीहरुले कांग्रेसको महाधिवेशनको सन्दर्भमा विगतमा महाधिवेशन गर्न हस्ताक्षर गरिएको उल्लेख गर्दै विशेष महाधिवेशनका लागि उक्त हस्ताक्षर नगरिएको दावी गरेका छन्।
‘...सम्पूर्ण प्रक्रिया पूरा गरी नियमित महाधिवेशन छिटो भन्दा छिटो सम्पन्न गर्ने सन्दर्भमा रहेकोले हामी तपशिलमा उल्लेखित हामी महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको हस्ताक्षर रहेकोले अहिले वर्तमान अवस्थामा पनि नियमित महाधिवेशनको पक्षमा रहेको व्यहोरा जानकारी गराइन्छ,’ हस्ताक्षरकर्ताहरुले संयुक्त रुपमा भनेका छन्।

गत भदौ २३ गतेका नवयुवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको सुरक्षाकारबाही र २४ गते देशव्यापी रुपमा भएको विध्वंश लगत्तै कांग्रेसका महामन्त्रीद्वयले अब पार्टीलाई नयाँ नेतृत्व दिएर परिवर्तनको पक्षमा अघि बढ्नु पर्ने भन्दै मंसिरभित्र पार्टीको नियमित अधिवेशन र त्यो नभए विशेष महाधिवेशन गर्नु पर्ने भन्दै देशव्यापी रुपमा हस्ताक्षर संकलन गराएका थिए।
यसरी संकलित हस्ताक्षरको संख्या ५४ प्रतिशत माथि रहेको दावी गर्दै हस्ताक्षर संकलनकर्ताहरुले विधानको धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशनको आयोजना गर्दै केन्द्रीय कार्यसमितिको निर्वाचनको माग गरेका थिए।
तर, पार्टीले उक्त प्रस्ताव कार्यालयमा दर्ता गरेपनि औपचारिक रुपमा केन्द्रीय कार्यसमितिको बैठकमा पेश नगरी नियमित अधिवेशनको कार्यतालिका तय गरेको थियो। यसका बाबजूद महाधिवेशनको प्रारम्भिक आधारका रुपमा रहेको क्रियाशील सदस्यता वितरणको प्रक्रियाले नै पूर्णता पाउन नसकेपछि पुस २६ देखि २८ गतेसम्मको १५औं महाधिवेशनको कार्यतालिका नै अन्यौलमा परेको थियो।
यहिबिचमा बिहिबार महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन स्थगनको घोषणा गर्दै अब विशेष महाधिवेशन हुने एकपक्षिय घोषणा गर्दै कार्यक्रमको तिथि, मिति र स्थान समेत टुंगो लगाएपछि कैलालीका यी महाधिवेशन प्रतिनिधिहरुले आफ्नो हस्ताक्षर विशेष महाधिवेशनका सवालमा प्रयोग नगर्न सार्वजनिक विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।



