नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका संशोधन गर्दै आगामी वैशाख २८ गतेदेखि गर्ने प्रस्ताव अघि सारिएको छ।
यसअघि गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले तय गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै टुंगिन नसकेपछि पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उक्त कार्यतालिका संशोधन गर्दै ०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव राखेको एक नेताले बताए।
पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंसिर १५ गतेको निर्णय बमोजिम अधिवेशनको कार्यतालिका अनुसार महाधिवेशन गराउने सम्भावना नदेखेपछि बिहिबार एकपक्षिय रुपमा विज्ञप्तिमार्फत महाधिवेशन स्थगित भएको र अब विशेष महाधिवेशनमा अघि बढेको विज्ञप्ति जारी गरेपछि कार्यबाहक सभापति खड्काले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए।
अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक केही समय ढिलागरी सुरु भएपछि कार्यसम्पादन समिति बैठकमा कार्यबाहक सभापति खड्काले उक्त संशोधित कार्यतालिकासहितको प्रस्ताव राखेका हुन्।
संशोधन सहितको नयाँ कार्यतालिका अनुसार, अब पार्टीको वडा अधिवेशन चैत २१ गते, गाउँ तथा नगरपालिकाको अधिवेशन चैत २५ गते, प्रदेश सभा क्षेत्रिय अधिवेशन २८ गते, प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वैशाख २ गते र त्यो भन्दा ज्यादा निर्वाचन क्षेत्र भएका जिल्लामा वैशाख ५ गते गर्ने प्रस्ताव गरिएको छ।
यसैगरी प्रदेश अधिवेशनको मिति वैशा १०, ११ र १२ गते तथा केन्द्रीय महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ।
यसैगरी बैठकमा सबै तह र निकायको पदावधि आगामी जेठड मसान्तसम्म थप गर्ने प्रस्ताव गरिएको छ।
यसअघि महामन्त्रीद्वयको अग्रसरतामा विशेष महाधिवेशनको माग गर्दै संकलित हस्ताक्षरलाई देखाउँदै असन्तुष्ट पक्षले पुस २७ र २८ गते भृकुटी मण्डपमा पार्टीको विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसहितको तयारी अघि बढाएका थिए।
कार्यबाहक सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माले अघि सारेका परस्पर विरोधी कार्यतालिकाले कांग्रेसभित्र थप विवाद चर्किएला कि आसन्न निर्वाचनलाई ध्यानमा राखी थाती रहला भन्ने कुराको स्पष्टताबारे जानकारी पाउन धेरै समय कुर्नु पर्ने छैन।



