हिमाल दैनिक
विशेष महाधिवेशन पक्षधरलाई नआउन आग्रह गर्दै नेता सिटौलाले भनेः विशेष महाधिवेशन हुन्न, जिल्लामा चुनावी तयारीमा जुटौं

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशभरीका पार्टी नेता तथा कार्यकर्तालाई कुनै हल्लाको पछि लागेर काठमाडौं नआउनु भन्दा आसन्न निर्वाचनको तयारीमा आ–आफ्नोे जिल्ला, क्षेत्र र स्थानीय तहमा क्रियाशील हुन आग्रह गरेका छन्।

पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन तत्काल नभएको अवस्थामा पुसको अन्तिममा विशेष महाधिवेशन हुने भन्दै १४औं महाधिवेशनका प्रतिनिधिलाई काठमाडौंमा उपस्थ्ति हुन भनेपछि पार्टी नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका÷नगरेका सबैलाई काठमाडौं नआउन अनुरोध गरेका हुन्।

सोमबार अपरान्ह पत्रकारहरुसँगको भेटघाटका क्रममा पूर्वमहामन्त्री सिटौलाले महामन्त्रीद्वय थापा र शर्माले चलाएको विशेष महाधिवेशनको तयारीप्रति लक्षित गर्दै प्रष्टसँग भने, ‘पार्टी केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिको कुनैपनि बैठकमा विशेष महाधिवेशनको प्रस्ताव छलफल वा निर्णयका लागि पेश भएकै छैन। छलफलको प्रक्रियामै नआएको विषयका आधारमा विशेष महाधिवेशन हुँदैन।’

पार्टीभित्र कुनै पनि विषयमा छलफल र निर्णय गर्दा सकेसम्म सर्वसम्मत र नभए अल्पमत÷बहुमतका आधारमा निर्णय हुने गरेको र बहुमतले निर्णय गरेपछि त्यसबमोजिमको पार्टी निर्णयलाई पार्टी महामन्त्रीहरुले विधान वमोजिम कार्यान्वयनमा लिएर जाने दायित्व रहेको पनि उनले स्मरण गराए।

सरकार र निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने भन्दै निर्णय गरी निर्वाचनको कार्यतालिका बमोजिम समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूचि बुझाइसकेको अवस्थामा पार्टीको प्राथमिकता निर्वाचनमा रहेकोे भन्दै उनले निर्वाचनअघि विशेष महाधिवेशनको माग गर्दै विधानको धारा १७ को उपधारा २ बमोजिमको प्रस्तावको औचित्य मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयसँगै समाप्त भएको बताए।

मंसिर १५ गतेको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय थापा र शर्मा स्वयंले समेत असम्भव छ भन्ने यथार्थ बुझ्दाबुझ्दै पनि पुस २६ देखि २८ गतेसम्म पार्टीको १५औं महाधिवेशन गर्ने भन्दै अधिवेशनको कार्यतालिका पेश गरेर पारित गरेकोमा अहिलेसम्म महामन्त्री थापाको मातहतमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक थापाले क्रियाशील सदस्यताको विषयमा कुनै लिखित विचारसहितको जानकारी नदिएको बताए।

साथै उनले यदि नियमित महाधिवेशनको विकल्पका रुपमा विशेष महाधिवेशनकै पक्षमा उभिएको भए महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकमा पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव किन राखेको भनि प्रश्न गरे। उनले भने, ‘महामन्त्री थापाले अघि सारेको मितिभन्दा केबल १० दिनको अन्तरमा कार्यबाहक सभापति खड्काले कार्यतालिका ल्याउँदा किन विमति जनाएर विशेष महाधिवेशनको कार्यतालिका अघि नसारेको?’ भनि थप प्रश्न पनि गरे।

कतिपय कानून व्यवसायीहरुले पार्टीले विशेष महाधिवेशन नबोलाएको अवस्थामा पनि केन्द्रीय कार्यालयको रेखदेख र दैनिक कार्यसञ्चालनको जिम्मेवारी बोकेका महामन्त्रीहरुले नै विशेष महाधिवेशन बोलाउन सक्ने भनि दिएको सुझावप्रति लक्षित गर्दै नेता सिटौलाले विधानको व्याख्या र कार्यान्वयन गर्ने अधिकार केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई बाहेक कसैलाई पनि नरहेको बताए।

कतिपय अवस्थामा कार्यसमिति वा कार्यसम्पादन समितिको बैठक बस्न नसक्दा सभापतिले व्यक्तिगत रुपमा लिएको निर्णय वा व्यक्त गरेका विषय समेत पार्टीको बेठक बसेपछि औपचारिक रुपमा अनुमोदन गराउनु पर्ने व्यवस्था रहेको भन्दै उनले भने, ‘व्यक्तिको बोली वा निर्णय पार्टीको निर्णय नहुने बताए।

पछिल्लो समय पुरानै नेतृत्वलाई लिएर चुनावमा पार्टीले मत प्राप्त गर्न नसक्ने भन्दै नयाँ अनुहार अघि सारेर पार्टीलाई चुनावमा सफलता दिलाउनु पर्ने भन्ने प्रसंगको ठाडो प्रतिवाद गरे।

‘निर्वाचनमा कुनै व्यक्तिको मुख हेरेर मात्रै भोेट आउँदैन, पार्टीले विगतमा निर्वाह गरेका ऐतिहासिक योगदान, कामकारबाही, भूमिका र चुनावी घोषणापत्रमा उल्लेखित जनमुखी कार्यक्रमकै आधारमा मत आउँछ,’ उनले भने। 

युवाहरु आवश्यकता, क्षमताप्रति आफ्नो विश्वास रहेकोे बताउँदै नेता सिटौलाले तर, कुनै व्यक्ति विशेषको भरमा मात्रै पार्टी संगठन बलियो नहुने भन्दै सामूहिक नेतृतव र प्रयासले नै बल प्राप्त हुने बताए। 

यसका अतिरिक्त आसन्न आम निर्वाचनमा पार्टीले कुनै दलसँग पनि चुनावी गठबन्धन नगर्ने स्पष्ट अडान सार्वजनिक गर्दै उनले तर, राष्ट्रिय सभा सदस्यको निर्वाचनको सवालमा भने औचित्य र आवश्यकताका आधारमा रणनीतिक समझदारी गरेर अघि बढ्ने बताए। 
  

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update