राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि देशभरीका जिल्लाबाट प्राप्त उम्मेदवारहरुको नामावली पेश गर्दै सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आजका लागि सक्किएको छ।
निर्वाचन आयोगले माघ ११ गतेका लागि तय गरेको राष्ट्रिय सभाका लागि १८ सदस्यको निर्वाचनको मनोनयन दर्ता बुधबारसम्म पेश गर्न राजनीतिक दलहरुलाई दिएको समयसीमा नजिकिँदै गर्दा कांग्रेसले कार्यसम्पादन समितिको बैठक अपरान्ह १ बजेका लागि बोलाएको थियो।
पूर्वनिर्धारित समयभन्दा केही ढिलागरी सुरु भएको कार्यसम्पादन समिति बैठकमा जिल्ला जिल्लाबाट प्राप्त उम्मेदवारहरुको नामबारे जानकारी गराउनुका साथै कुन प्रदेशमा कुन समूहको सदस्यका लागि निर्वाचन हुँदैछ भन्नेबारे समिति सदस्यहरुलाई जानकारी गराइएको थियो।
सात प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा सम्बन्धित प्रदेशमा कुनै पनि एक पार्टीको मात्रै एकल मतभार पर्याप्त नभएको स्थितिमा प्रमुख राजनीतिक दलहरुबिच चुनावी तालमेलको आन्तरिक गृहकार्य जारी छ।
कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचनमा विशेषगरी नेकपा एमाले, पुष्पकमल दाहाल नेतृत्वको नेकपाका अतिरिक्त मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने उपेन्द्र यादव र महन्थ ठाकुरको दलसँग पनि निरन्तर वार्ता र सम्वादमार्फत सिट बाँडफाँटको लागि वार्ता जारी राखेका छन्।
‘भोलि मंगलबारसम्ममा कुन कुन दलले के कति सिट लिने र कसलाई कुन समूहको सिट दिने भन्नेबारे सहमति जुटेपछि सोही सहमतिका आधारमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारहरुको सूचि टुंगो लगाउने छ,’ बैठकपछि एक नेताले भने।
यसअघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमाले, नेकपा र मधेस केन्द्रित दलहरुसँग आपसी समझदारी कायम गरेर चुनावमा जाने गृहकार्यमा खड्का र लेखक जुटिरहेको जानकारी दिएका थिए।



