नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै तहको लचकता देखाउनु परेपनि तयार रहेको बताएका छन्।
बुधबार आफ्नै निवासमा कांग्रेसको नाममा आयोजित भेला र त्यसले निम्त्याउन सक्ने सम्भावित अप्रिय दुर्घटनाबाट पार्टी एकतालाई बचाउने बिषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसंगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू जस्तोसुकै लचक हुनपनि तयार रहेको बताएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उनले यसअघिको पार्टी निर्णय बमोजिम समानुपातिक तर्फ र राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तय गरेको कार्यतालिकाभित्र आफ्नो नाम र हस्ताक्षर प्रयोग भइसकेको र बाँकी रहेको प्रत्यक्ष तर्फका उम्मेदवारहरुको मनोनयन पत्रमा आफ्नो हस्ताक्षर राख्न हुन्न भने पनि आफू त्यो छाड्न तयार भएको बताएका थिए।
यसका लागि कानूनी र व्यवहारिक विषयबारे निर्वाचन आयोगले के गर्छ भन्नेबारे आफूलाई जानकारी नभएको भनेपछि महामन्त्रीद्वय थापा र शर्मा यसबारे आयोगसँगै कानूनविदहरुसँग परामर्श गरी जवाफ दिने भन्दै बाहिरिएका थिए।
सभापति देउवाले अन्य बिषयबस्तुमा ठूलो समस्या नभएकाले पार्टी फुटबाट जोगाउनका लागि पनि महामन्त्रीहरुलाई आग्रह गरेको महतले बताए।
त्यस्तै सभापति देउवाले संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न समेत प्रस्ताव गरेको महतले जानकारी दिए।
सभापति देउवाले चूनाव लड्ने बिषयमा आएका बिषयमा महामन्त्रीद्वयले सभापतिले चूनाव लड्न नहुने कुरा नगरेको स्पष्ट बताए।
यसअघि सहमतिको प्रयास गर्ने क्रममा सभापति देउवाले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन पनि लड्न नहुने भन्दै मध्यस्तकर्तामार्फत प्रस्ताव अघि सारेपछि संविधान र कानूनले नै अयोग्य घोषणा गरेको हकमा बाहेक कुनै व्यक्तिविशेषको चाहना र लहडका भरमा कसैको मौलिक हकमाथि प्रतिबन्ध लगाउने कुरा स्वीकार्य नहुने भन्दै सभापति लगायतका नेताहरुले आपत्ति प्रकट गरेका थिए।
महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा छलफल गर्ने बताएका थिए।
तर, सभापति देउवाको निवासबाट बाहिरिएलगत्तै महामन्त्रीद्वय र उनीहरुको पक्षले सभापति देउवा पार्टी एकता कायम गर्न तयार नभएको आरोप लगाउँदै भृकुटीमण्डपस्थित आफ्नो समूहले बोलाएको महाधिवेशन प्रतिनिधिहरुको भेलामा नयाँ नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया अघि बडाएको भन्दै मिडियामार्फत देउवामाथि दोष थोपारिरहेका छन्।



