नेपाली कांग्रेसले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टी अनुशासनको उलंघन गरेको आरोपमा पाँच वर्षका लागि निष्कासन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा कार्यबाहक उपसभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री मन्सुरले विगत केही दिनदेखि पार्टी निर्णय र हित विपरित विभिन्न गतिविधिहरु गरिरहेको र आजै मात्र पनि पार्टी अधिवेशनको नाममा आयोजित भेलामा सभापति, उपसभापति, महामन्त्री लगायतका पदमा मनोनयन दर्ता गरेर पार्टी विधान र अनुशासनको उलंघन गरेको बताउँदै विधानकै प्रावधान बमोजिम पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी अनुशासनको कारबाही गरिएको बताएका थिए।
खड्काले यसअघि पार्टीको नियमित महाधिवेशनको कार्यतालिका महामन्त्रीद्वयकै सहमतिमा मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरी पारित गरेकोमा त्यसलाई गत पुस १७ गते एकाएक महाधिवेशन स्थगित भएको भन्दै विशेष महाधिवेशनको नाममा भेला बोलाएको आरोप लगाए।
आफूले विश्वास गरेर नै उक्त कार्यतालिका ल्याएकोमा उनीहरुले पार्टी विभाजनको सवालमा धोका दिएको गुनासो पनि गरेका थिए।
यसअघि पार्टीले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५औं महाविधेशन गर्ने भन्दै तयार पारेको कार्यतालिका बमोजिम देशभित्र क्रियाशील वितरणको प्रक्रियामै अल्झिएको थियो।
गत भदौ २३ र २४ गतेको घटनापश्चात महामन्त्रीद्वयको अग्रसरतामा भएको महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको पत्र असोज २९ गते कार्यबाहक खड्कालाई बाझउँदै मंसिर २१ गतेभित्रै नियमित अधिवेशन र त्यो नभए पुसभित्रै विशेष अधिवेशन गर्न माग गरिएको थियो।
तर, विधानका कतिपय प्रावधानसँगै विशेष महाधिवेशनको प्रक्रियाले पार्टीभित्र ल्याउनसक्ने दरारलाई कम गर्न खोजिए पनि पछिल्लो समय त्यो सम्भव नभएपछि महामन्त्रीद्वयले २७ गतेदेखि काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरु भेला गर्दै विशेष महाधिवेशन उद्घाटनदेखि उक्त भेलामा निर्वाचन समिति गठन, कार्यविधि पारित, महामन्त्रीहरुको प्रस्तावसँगै केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया अघि बढाएका थिए।
यसका बाबजूद सभापति शेरबहादुर देउवाले उक्त गतिविधिबाट पार्टीमा आउन सक्ने विभाजनलाई टार्न आफू हदैसम्मको लचिलो हुने भन्दै महामन्त्रीद्वयका अधिकांश माग सम्बोधन गर्न तयार देखिएका थिए।
तरपनि महामन्त्रीद्वयले आसन्न निर्वाचनमा देउवा उम्मेदवार बन्न नहुनेदेखि हाइकमाण्ड गठन र निर्वाचनपछिको प्रधानमन्त्री महामन्त्री थापालाई भन्ने सवालमा सहमति नजुटेपछि थापाले भृकुटीमण्डमा सभापतिको लागि मनोनयन दर्ता गरेका थिए।
यसका अतिरिक्त शर्मा, मन्सुर लगायतका अन्य नेताहरुले पनि विभिन्न पदमा मनोनयन दर्ता गरेको समाचार प्रकाशित भएपछि पार्टी केन्द्रीय कार्यालयमा उनीहरुविरुद्ध अनुशासनको कारबाही गर्दै बाँकी रहेका अन्य सदस्यहरुलाई त्यस्ता गतिविधि छाडेर पार्टीको मूलधारमा सक्रिय हुन पनि खड्काले अपिल गरेका छन्।
कांग्रेसभित्रको पछिल्लो घटनाक्रमले एकातिर कांग्रेसभित्र त चर्को मल्लयुद्ध वा द्वन्द्धको स्थितिसँगै आसन्न निर्वाचनको प्रक्रियालाई पनि प्रभावित पार्ने त होइन भन्ने खतरा बढाएको छ।



