नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेका झण्डै ७५ प्रतिशत सदस्यहरुले पार्टीको आधिकारिता आफूहरुकै मातहतमा रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
पार्टीका निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केही दिनअघि भृकुटीमण्डमा विशेष महाधिवेशनको नाममा आयोजित कार्यक्रममार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको भन्दै निर्वाचन आयोगमा कांग्रेस पार्टीको आधिकारिकता माग गरेको थियो।
उक्त समाचार प्रकाशित भएपछि शुक्रबार बिहानै पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका अन्य पदाधिकारी तथा शीर्ष नेतासहित १२३ जना केन्द्रीय कार्यसमिति सदस्यलाई लिएर निर्वाचन आयोगमा पुगेका थिए।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीसमक्ष कांग्रेसका कार्यबाहक सभापति खड्काले आफ्नो पार्टीको विधान र केन्द्रीय कार्यसमितिका यसअघिका निर्णयहरुका आधारमा पार्टीले कुनै विशेष महाधिवेशनको आयोजना नगरेको र कार्यसमिति विघटन वा नयाँ निर्वाचन पनि नगरेको सविस्तार जानकारी गराएका थिए।
खड्काले पार्टीले गत मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको १५औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्दै प्रक्रिया अघि बढाइसकेको र कतिपय जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधिहरुको चयन समेत भइसकेको अवस्थामा विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा दर्ता भएको निवेदन स्वतः खारेज भएको दावी गरे।
साथै उनले पार्टी अनुशासन विपरित पूर्वमहामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरले गतिविधि गरेको कारण उनीहरुलाई पुस ३० गतेको केन्द्रीय कार्यसमिति बैठकले अनुशासनको कारबाही गर्दै निस्काशन समेत गरिसकेको दावी गरे।
यसका अतिरिक्त विगतमा पार्टीका कतिपय महाधिवेशन प्रतिनिधिहरुले नियमित महाधिवेशनको माग गर्दै त्यो नभए विशेष महाधिवेशनको माग गर्ने पत्रमा हस्ताक्षर गरेपनि पछिल्लो समय नियमित महाधिवेशन र आम निर्वाचनको घोषणाका कारण आफूहरुले गरेको विशेष महाधिवेशनको सन्दर्भमा गरेको हस्ताक्षर फिर्ता गरेको निवेदनसहितको पत्र पार्टी मुख्यालयमा प्राप्त भएको बताएका थिए।
यसरी हस्ताक्षर फिर्ता गरेको भन्दै कार्यबाहक सभापतिको नाममा प्राप्त ८८५ प्रतिनिधिहरुको हस्ताक्षरसहितको पत्र पनि खड्काले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई बुझाएका थिए।
आफ्नो दावीसहितको बिबरण बुझाउदै कांग्रेसका कार्यवाहक सभापति खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरे।
खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुङ्गो लगाएमा त्यो मान्य नहुने स्पष्ट पारेका थिए।
यसैगरी पार्टी नेता शेखर कोइरालाले पार्टीको नियमित वा विशेष महाधिवेशनको आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको भन्दै कुनै पनि व्यक्ति विशेषले महाधिवेशन बोलाएर कमिटी विघटन वा गठन गर्न नसक्ने जिकिर गरेका थिए।
साथै उनले निवर्तमान महामन्त्रीद्वय थापा र शर्माहरु कांग्रेसबाट चोइटिएर गएको भन्दै त्यसका बाबजूद पनि सिंगो पार्टीको बहुमत सदस्य आयोगसमक्ष उपस्थित रहेको र आयोगले संविधान, कानून र पार्टी विधान बमोजिम आफ्नो दलको अधिकार सुनिश्चित गराउन माग गरेका थिए।
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै नेता कोइरालाले आयोगसमक्ष यदि आयोगका कुनै सदस्यले टुंडिखेलमा गएर फागुन ६ गते निर्वाचनका लागि मनोनयन दर्ता हुँदैन भनेको खण्डमा त्यो आयोगलाई मान्य हुन्छ वा त्यसको बेग्लै विधिसंगत प्रक्रियाबाट निर्णय गरिन्छ भनि प्रश्न गरेका थिए।
कांग्रेसका नेताहरुको धारणा सुनिसकेपछि कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, राजनीतिक दल सम्बन्धी कानून, दलको विधानसँगै आयोगको स्थापित विधि, परम्परा बमोजिम नै कामकारबाही र निर्णय गर्ने जानकारी गराएका थिए।



