सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्चाउन माग गर्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ।
सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै चरण्बद्ध आन्दोलनमा रहेको महासंघले पेशागत संगठन र सरोकारवालासहित काठमाडौंमा वृहत ऐक्यवद्धता ¥यालीको आयोजना गरेको हो।
महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संंविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितता हुनुपर्ने समेत माग राखेको छ।
विधिको शासन, नागरिक सर्वोच्चता र पेशागत तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) समेत सहभागी भएर महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको हो।
ऐक्यवद्धता र्यालीमा सहभागीहरुले सञ्चारमाध्यममाथिको आर्थिक नाकाबन्दी फिर्ता गर, प्राज्ञिक स्वतन्त्रतामा हस्तक्षेप बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सो क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संविधानले दिएको सूचनाको हकका साथी सूचनाको पहुँचमा राज्यको नियन्त्रण जस्तो देखिएकाले ध्यानाकर्षण गराउनुपरेको बताइन्।
त्यस्तै पापड आबद्ध संघसंस्थाका प्रतिनिधिहरुले विधिको शासन, नागरिक सर्वोच्चताका बिषयमा राज्य जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए।
२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई बञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राख्दै महासंघ चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो।



