हिमाल दैनिक
भक्तपुरको नवदुर्गाको दर्शन यस बर्ष राष्ट्रपतिले नगर्न
nava-durga-bhaktapur
विजयादशमीको विदाई गर्दै राष्ट्रप्रमुखबाट पूजा अर्चना गरिने भक्तपुरको नवदुर्गाको यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शन नगर्ने भएकी छिन् । दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखले पूजा अर्चना एवं दर्शन गरेर पर्व विदाई गरिने परम्परा रहेकोमा यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको दर्शन गर्नेबारे कुनै जानकारी नआएको नवदुर्गा देवगण तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजेस वनमालाले जानकारी दिए । उनले विगत वर्षमा राष्ट्रपति जानेबारे एक महिना अघि नै राष्ट्रपति कार्यालयले नवदुर्गा गणका सदस्यलाई जानकारी गराइने गरेकोमा यस वर्ष अहिलेसम्म कुनै जानकारी नआएकाले राष्ट्रपतिको उपस्थिति नहुने उनले जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षको दसैमा राष्ट्रपति भण्डारीले कुनै पनि शक्तिपीठको दर्शन गर्नु भएको छैन । दशैको अन्तिम दिन तथा कोजगत पुणिर्माको दिन राष्ट्रप्रमुख मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरि प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । यस वर्षको बडा दसै शनिबार सम्पन्न हुँदै छ । २०४५ सालको भुकम्प पश्चात दशैको अन्तिम तथा कोजगत पुणिर्माको दिन राष्टप्रमुखको हैसियतले राजा जाने चलन थियो भने अहिले राष्ट्रपति जाने परम्परा रहेको छ । त्यस्तै मन्दिरमा प्रत्येक बर्ष नवमीको राती नवदुर्गा गणलाई वली दिईने महिषासुर राक्षसको प्रतिकरुपमा मन्दिरमा पालेर राखेको रागोलाई बली दिईने चलन रहेको छ । सोही प्रचलन अनुसार महानवमीको दिन आइतबार महिषासुर राक्षसको प्रतीकको रुपमा खःमेय् जात्रा सम्पन्न गरिएको छ । खःमेय्को वधपछिमात्रै भक्तपुरको ऐतिहासिक नवदुर्गा नाचका देवगणको उत्पत्ति हुने जनविश्वास रहेको छ। भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा द्योछेंमा पालिएको खःमेय्लाई स्थानीय ब्रह्मायणी पीठमा पु-याएर आइतबार खःमेय् जात्रा विधिवत सम्पन्न गरिएको हो। यसअघि महानवमीको दिउँसो हुने उक्त जात्रा यस वर्ष बिहानै सम्पन्न गरिएको थियो । दिउँसो गरिँदा सर्वसाधारणको भीड थेग्न नसकिने सम्भावनाको कारण बिहानै जात्रा सम्पन्न गरिएको अध्यक्ष वनमालाले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update