हिमाल दैनिक
दशैँको १० औं दिन, विजयदशमीको दिनमा पोखरामा १०१ जनामा कोरोना संक्रमण देखिएको छ। हिन्दुहरु महान चाड बडा दशैँ मनाउन पछिल्लो समय बिभिन्न ठाउँहरुबाट पोखरा आउने क्रम बढेसंगै कोरोना संक्रमितको संख्या पनि दिनहु दिन बढ्दै गएको छ। सरकारले यस बर्ष 'जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ' भन्दै आग्रह गरेपनि सर्वसाधारणहरु न त सरकारको आग्रहनै मानेका छन् न त स्वास्थ्य निर्देशन नै अपनाएका छन्। जसका कारण गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज बिहान स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार यो समाचार तयार गर्दासम्म गण्डकी प्रदेश मा २४४ कोरोना संक्रमित थपिएका छन् भने यसबाट ४ जनाको मृत्यु भईसकेको छ। दशैँ लागे यता गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित कास्की जिल्लामा देखिएको छ। हिजो मात्र कास्कीमा कोरोनाबाट ४ जनाको मृत्यु भएको थियो । आज संक्रमित हुनेमा नवलपरासी (ब सु पु) का ९१ जना, बाग्लुङ्गका १७ जना, गोर्खाका ४ जना, तनहुँका २५ जना, लम्जुङ्गका ५ जना, कास्कीका १०१ जा र स्याङ्जाका १ जना रहेका छन्। पोखरामा एकै दिनमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । संक्रमित मध्य पोखरामा ५ जना ट्राफिक र वडा प्रहरी कार्यालय बगरका ३१ प्रहरी जवान रहेका छन् । त्यस्तै आज गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ। मृत्यु हुने नवलपरासी (ब.सु.पू) जिल्ला, गैंडाकोट-५ का ७३ बर्षीय पुरुष, कावासोती-२ का ७७ बर्षीय पुरुष ,पोखरा महानगरपालिका-१५ का ७८ बर्षीय महिला र पोखरा महानगरपालिका-५ का ५५ बर्षीय पुरुष रहेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update