हिमाल दैनिक
नेपाल टेलिकमको 'एनटी टिभी'को शुरुआत
nepal-telecom
नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो । उक्त सेवाको शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुरुआत गरे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटिटिएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो । टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टिभी सेवा सञ्चालनमा आएको छ । कार्यक्रममा मन्त्री गुरुङले सेवालाई भरपर्दो र विश्वासिलो बनाउँदै सेवा प्रवाहलाई ग्राहकमैत्री बनाउन निर्देशन दिए । उनले दूरसञ्चार क्षेत्रमा आविष्कार भएका प्रविधिको अध्ययन गरी नेपालमा पनि शुरुआत गर्न आग्रह गरे । कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सेवामा गुणात्मकताका साथै दीगो रुपमा सञ्चालन र २४ सै घण्टा सेवा दिनुपर्ने चुनौती रहेको औँल्याउँदै ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिए ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update