हिमाल दैनिक
जोरबिजोर प्रणालीमा बिहीबारदेखि सार्वजनिक सवारी सञ्चालन हुने
rainfall in kathmandu
यातायात व्यवसायी र यातायात मजदुरहरु बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न तयार भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफुहरुले साउन ८ गते बिहीबारदेखि सार्वजनिक सवारी सञ्चालन गर्ने जानकारी दिएका हुन् । आफूहरुले अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै सार्वजनिक सवारी सञ्चालनमा ल्याउने उनीहरुले जनाएका छन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै गाडी चलाएका थिएनन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात व्यवस्था बिभागसंगको छलफलका क्रममा बिभिन्न बिषयमा सहमति भएकाले यातायात सञ्चालन गर्न आफुहरु तयार रहेको बताए । उनले श्रमिकहरुको कोरोना बिमादेखि यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकार सहमत भएको जनाए । आफुहरुको माग श्रमिक र जनताकै लागि भएको भन्दै उनले अव सहज रुपमा यातायात सञ्चालन हुने जानकारी दिए । सार्वजनिक सवारीहरु जोरबिजोर प्रणालीका आधारमा सञ्चालन हुने महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update