हिमाल दैनिक
बुधबार उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि
maitighar-kathmandu-corona
बुधबार उपत्यकामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत दिएको जानकारी अनुसार उपत्यकामा ६२ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ७८९ पुगेको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा कोरोना संक्रमण देखिएको हो। बुधबार भक्तपुरमा संक्रमित भेटिएका छैनन्। भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल हस्पिटल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्। यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै ५९८ जना, ललितपुरमा ११४ जना र भक्तपुरमा ७७ जना कोरोना संक्रमित पुगेका छन्। बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो। उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ। सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update