आज इन्द्रजात्रा, कोरोनाका कारण यस वर्ष क्षमा माग्दै पूजा मात्र गरिँदै

काठमाडौं । कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा नहुने भएको छ । जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा गरिँदै छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको यो जात्रा यस पटक कोरोना संक्रमणको त्रासका कारण रोकिएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाउने परम्परा रहेको छ ।
इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको कुमारी, भैरव र गणेशको रथारोहण गरिने परम्परा छ ।
तर यस वर्ष कोरोना महामारीका कारण पूजा औपचारिकतामा मात्र सीमित भएको छ । जात्राको मुख्य दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिइएको छ ।
विगतका वर्षहरुमा जात्राको दिन तल्लो टोलमा कुमारीलाई यात्रा गराइन्थ्यो भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराउने प्रचलन थियो।
यस वर्ष भने इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गरिने गुठी संस्थान काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले संक्रमण फैलने भन्दै भीडभाडमा विभिन्न चाडपर्व नमनाउन आग्रह गरेको छ ।
यसैबीच राष्ट्रपति विद्या भण्डारीले कोरोनाबाट जोगिन सरकारले लागू गरेको सुरक्षाका मापदण्ड पूरा गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताएकी छन्।
इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जात्रा मनाउन आग्रह गरेकी हुन्।
उनले इन्द्रजात्रा पर्वले प्राकृति स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने बताइन्।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय