नेविसंघले कक्षा ११ को परीक्षा पनि नलिन माग गर्दै शिक्षामन्त्रीलाई बुझायो ज्ञापनपत्र
कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको नकारात्मक प्रभावलाई कसरी न्यूनीकरण गर्न भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
कोरोना भाइरसको महामारीको कारण शिक्षा क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई कम गर्न र यसबाट उत्पन्न चुनौतीको सामना गर्न ठोस कार्यायोजना बनाई अघि बढ्न ध्यानाकर्षण गर्दै आइतबार शिक्षा मन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाइएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।
नेविसंघले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तरको दायित्व राज्यको भएकाले बजेट वक्तव्यको १६६ नम्बर बुँदामा रहेको व्यवस्था खारेज गर्न माग गरेको छ । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार लगायत कार्यक्रमहरु शिक्षामा दलिय राजनीतिलाई प्रशय दिन ल्याइएको भन्दै खारेज गर्न माग गरेको छ ।
ज्ञापनपत्र हस्तान्तरणपछि बोल्दै नेविसंघ अध्यक्ष ढुंगानाले मन्त्री पोखरेलले नेविसंघले उठाएका मागहरु जायज रहेकाले केहि विषय कार्यान्वयनको अवस्थामा रहेको र बाँकी रहेका केहि विषयहरु गम्भिर रुपमा छलफल गर्ने बताउनुभएको जानकारी दिए ।
नेसिंघले वैकल्पिक सिकाई प्रणाली निर्देशिका २०७७ मा भएका व्यवस्था अस्पष्ट रहेको भन्दै मन्त्रालयको स्पष्ट धारणा आवश्यक रहेको औल्याएको छ । अनलाईन, टिभि, रेडियो, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबाट पठनपाठन सुरु गर्न इन्टरनेट लगायत सबै प्रविधिको निशुल्क व्यवस्थ गर्न माग गरिएको छ । सबै विद्यालय तथा शैक्षिक संस्थाहरु नखुलुन्जेल कुनैपनि प्रकारको शुल्क लिने कार्य बन्द गर्न माग गरेको छ
। पुस्तकमा लगाइएको १० प्रतिशत कर व्यवस्था खारेज गर्न माग गरेको छ । त्यस्तै एसईईको आन्तरिक मुल्यांकन पद्धति व्यवस्थित र प्रभावकारी बनाउदै कक्षा ११ को परीक्षालाई पनि आन्तरिक मुल्यांकन पद्धतिबाट टुंगो लगाई कक्षा १२ को परिक्षा राष्ट्रिय परिक्षाको मान्यता दिनुपर्ने लगायत बुँदाहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय