हिमाल दैनिक
नेकपाभित्रको विवाद मिलाउन चिनिया राजदूतको ‘रहस्यमय दौडधूप’!
oli-nepal-dahal
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न गुटगत स्वार्थका आधारमा चर्किएको विवादकाबीच चिनिया राजदूत होउ यांछाीको सक्रियता एकाएक बढेको छ। विशेष गरी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालबीच चर्किएको सत्तासंघर्ष र विवादले पार्टी र सरकारको नेतृत्वमाथि मडारिएको कालो बादल हटाएर उक्त पार्टीभित्र समन्वय कायम गराउन चिनिया राजदूत होउले आफ्नो भेटघाटलाई तिब्रता दिएको उच्च स्रोतको दाबी छ। नेकपा विदेश मामिला विभागका उपप्रमुख तथा केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार, नेपालका लागि चीनकी राजदूत होउ यांछाीले शुक्रबार नेकपा द्वितीय अध्यक्ष दाहाल र विदेश मामिला विभाग प्रमुख तथा नेता नेपालसँग उनीहरुको निवासमा बेग्लाबेग्लै भेटवार्ता गरेकी हुन्। भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको रिजालले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। यसअघि बिहिबार साँझ राजदूत होउले प्रधानमन्त्री ओलीलाई उनकै सरकारी निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेको उच्च स्रोतले बतायो। पार्टीभित्र बढ्दै गएको विवादबारे छलफलका लागि बोलाइएको नेकपा सचिवालय बैठक बस्नु अगाडि चिनिया राजदूतले नेकपाका नेताहरुसँग गरेको भेटवार्ता र दौडधूपले नेपालको सत्तारुढ दलभित्र चिनियाँ पक्षको भूमिका सतहमा ल्याइदिएको छ। संविधान सभाबाट नयाँ संविधान जारी भएलगत्तै दशकौंदेखि भारतीय राजनीतिक हस्तक्षेपलाई माथ दिँदै उत्तरको छिमेकी मुलुक चीनले विशेष सक्रियता बढाएको थियो। त्यहि आधारमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच आन्तरिक सहमति कामय गरी एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउनुका साथै २०७३ वैशाखमा सत्ताबाट बाहिरिएर नेपाली कांग्रेससँग सत्तासाझेदारीको तयारीमा रहेको माओवादी नेतृत्वलाई यति समूहका मालिक आङछिरिङको निवासमा बोलाएर एमालेसँगै सत्तामा रहन बाध्य पारेको थियो। त्यसपछिका दिनमा पनि एमाले र माओवादीबीच चुनावी तालमेलदेखि पार्टी एकीकरण गराएर नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनाउन चीनको विशेष सहयोग र भूमिका रहेको राजनीतिक र विदेश मामिलाका जानकारहरु बताउँछन्। पछिल्लो समय प्रधानमन्त्री ओलीको रवैया र गतिविधिबाट रुष्ट बनेका नेताद्वय दाहाल र नेपालले उनलाई पार्टी र सरकारको नेतृत्वबाट हटाउन आन्तरिक तयारी गरेपछि चर्किएको विवाद समाधान गराउन अहिले पुनः चिनिया राजदूतको सक्रियता बढेको बताइएको छ। स्रोतका अनुसार, राजदूत होउले प्रधानमन्त्री ओली, नेताद्वय दाहाल र नेपाललाई पार्टीभित्रको विवाद जतिसक्दो चाँडो समाधान गरी कम्युनिष्ट पार्टीभित्रको एकता कायम गर्न सुझाव दिएको दाबी छ। प्रधानमन्त्री ओलीले दलभित्र कुनै छलफल नै नगरी राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद ऐन संशोधन अध्यादेश जारी गरेर अनावश्यक राजनीतिक द्वन्द्ध निम्त्याएपछि असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्र अभियान चलाएका थिए। प्रधानमन्त्री ओलीले त्यसको वेवास्ता गर्दै अघिबढेपछि दाहाल र नेपाल पक्षका २० स्थायी कमिटि सदस्यहरुले पार्टी स्थायी कमिटिको बैठक तत्काल बोलाएर पार्टी र सरकारको विषयमा नयाँ निर्णय लिन दबाब दिएपछि ओलीले त्यसलाई अस्विकार गर्दै आएका थिए। तर, पछिल्लो समय ओली र असन्तुष्ट पक्षबीच सांसदहरुको हस्ताक्षर अभियान चलाएपछि बुधबार सचिवालय बैठक डाकिएको थियो। जहाँ कतिपय नेताहरुले प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारको नेतृत्व गर्न असफल रहेको आरोपमा पद छोड्न दबाब दिएका थिए। जवाफमा प्रधानमन्त्री ओलीले आफू कोरोना भाइरसको संक्रमणपछि दुबै पद छोड्न तयार रहेको बताउँदै त्यसपछि पार्टी अध्यक्षमा नेपाल र प्रधानमन्त्री पदमा उपाध्यक्ष बामदेव गौतमलाई बनाउने सर्त राखेका थिए। गौतमलाई प्रधानमन्त्री पदमा निर्वाचित गराउन सरकारले या त कुनै निवाृचन क्षेत्रमा उपनिर्वाचन मार्फत संसद सदस्यमा निर्वाचित गराउनु पर्छ अथवा संविधानमै संशोधन गराउनु पर्ने असम्भव प्रक्रिया पूरा गर्नु पर्छ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update