बिरामीलाई उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पाटन अस्पताल र वीर अस्पतालमा ज्वरो आएर उपचारका लागि ल्याएका बिरामीको मृत्यु भएपछि मन्त्रालयले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ती बिरामीको कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएपछि मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा अरु उपचार नगरेर राख्ने प्रवृति नदोहोर्याउन देशैभरका अस्पतालहरूलाई चेतावनीसमेत दिएको छ ।
https://www.facebook.com/himaldainik/videos/204106577554370/?t=2
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आकस्मिक रूपमा आउने बिरामीको उपचारमा लापरवाही नगर्न देशैभरका अस्पताललाई निर्देशन गरिएको बताए । हरेक अस्पतालमा ज्वरोका बिरामी आउनेबितिक्कै डराएर उपचार नगर्ने प्रवृति दोहोरिएको भन्दै यस्तो क्रियाकलाप नगर्न उनले ध्यानाकर्षण गराए ।
मन्त्रालयका अनुसार नेपालमा आजसम्म १०६० वटा परीक्षण गरिएको छ । आइसोलेसन बेडमा हाल टेकुमा १० जना र देशका विभिन्न प्रदेशमा ७७ जना रहेका छन् । चारजना आइसोलेसनमा रहेका बिरामीमध्ये दोस्रो र तेस्रो संक्रमितको कन्ट्याक्ट ट्रेस सकिएको तथा चौंथो र पाँचौको ८० प्रतिशत सकिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले नेपाल ल्याइएका स्वास्थ्य उपकरण मुलुकका बिभिन्न स्थानमा पठाइसकिएको जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय