भारतीय राजदूत क्वात्राद्वारा कांग्रेस सभापति देउवा र नेकपा नेता नेपालसँग बेग्लाबेग्लै भेटवार्ता

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्।
हालैमात्र नेपालका लागि नियुक्त भएर काठमाडौं आएलगत्तै आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेर कार्यभार सुरु गरेका क्वात्राले शुक्रबार अपरान्ह सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको निवासमा पुगेर भेटवार्ता गरेको देउवाका नीजि सचिव भानु देउवाले बताए।
देउवासँगको भेटवार्ताका क्रममा राजदूत क्वात्रासँग दुई देशबीचको पारस्परिक सम्बन्ध र हितका विषयमा कुराकानी हुनुका साथै भारत र नेपालबीचको आपसी सहयोग र विश्वासको वातावरणलाई अझ बलियो बनाउनेबारे छलफल भएको थियो।
उक्त भेटवार्ताका क्रममा सभापति देउवाले नवनियुक्त राजदूत क्वात्राको कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए।
यसैगरी राजदूत क्वात्राले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपालले आफ्नो सामाजिक संजालमाफृत सार्वजनिक गरेको सन्देशमा राजदूतसँग दुई देशबीचको आपसी हित र सम्बन्धकाबारेमा कुराकानी भएको बताइएको छ।
नेता नेपालले भारतीय राजदूतको कार्यकालको सफलताको कामना गर्नुका साथै राजदूत क्वात्राले नेता नेपाललाई उनको आजै परेको जन्मदिनको अवसरमा शुभकामना समेत दिएका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय