नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्व छोडेर कांग्रेसमा प्रवेश गरेका थप ८ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
पार्टी मुख्यालयका मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका पार्टी सदस्यलाई पार्टी विधानको धारा (४) को उपधारा १० को खण्ड (ग) र (ङ) बमोजिम केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रुपमा मनोनित गरेका हुन्।
यसरी मनोनित हुने सदस्यहरुमा सर्लाहीका जंगीलाल राय, डोल्पाका कर्णबहादुर बुढा, कैलालीका मोहनसिंह राठौर, सर्लाहीका शम्भुलाल श्रेष्ठ, कपिलवस्तुका अभिषेखप्रताप शाह, लम्जुङका दयाराम पाण्डे, डडेल्धुराका जनकराज कलौनी र स्यांजाका भूमिबहादुर (विश्व) गुरुङ रहेका छन्।
उनीहरुमध्ये, राय तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए भने बुढा, पाण्डे र गुरुङले राप्रपा छोडेर कांग्रेसमा प्रवेश गरेका हुन्। साथै राठौर तत्कालिन नेकपा एमाले, श्रेष्ठले नेकपा माओवादी र शाहले समाजवादी फोरम छोडेर कांग्रेसमा प्रवेश गरेका थिए।
यसका अतिरिक्त देउवाले बढिमा अझै १० जना केन्द्रीय सदस्यहरु उपसभापति विजयकुमार गच्छदारको पुरानो पार्टी फोरम लोकतान्त्रिकका तर्फबाट मनोनित गर्न बाँकी नै छ।
पार्टीको विधान बमोजिम कुनै पनि राजनीतिक दलबाट दल त्याग गरी कांग्रेस प्रवेश गर्ने सदस्यलाई उसको पुरानो हैसियत अनुसारको पद दिन सक्ने व्यवस्था रहेको छ। पार्टी विधानकाे परिच्छेद (२) काे सदस्यता सम्बन्धी व्यवस्थाकाे धारा ४ काे उपधारा (१०) काे खण्ड (ग) र (ङ) मा भनिएकाे छः
यसरी कांग्रेसको केन्द्रीय समितिमा हाल कायम रहेका ८५ जना पदाधिकारीसहित निर्वाचित र मनोनित सदस्य, ८ जना पहिलेनै मनोनित र थप पाँच जना शनिबार मनोनित तथा आज ८ जना नयाँ मनोनित आमन्त्रित सदस्यसहित अब कांग्रेसको केन्द्रीय समितिको आकार बढेर १ सय ६ सदस्यीय कार्यसमिति बन्न पुगेको छ।
जसमा अझै फोरम लोकतान्त्रिकका १० तथा एक दलित सदस्यको मनोनयन भएमा ११७ सदस्यीय समिति हुने छ। जसको बैठक व्यवस्थापनका लागि हाल कांग्रेसले संचालन गर्दै आएको बैठक कक्षले थेग्न नसक्ने सम्भावना बढेको छ।
साथै देउवाले पार्टी नियमावलीकोे नियम ५० बमोजिम ३० जना पार्टीका अगुवा राजनीतिककर्मीहरुलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका छन्।
यसरी नयाँ विधान र नियमावली बमोजिम तयार गरिएको संरचनामा पर्ने सदस्यहरुमा पार्टीका पुराना नेताहरुमा ढुण्डीराज शास्त्री (अर्घाखाची), सूयमान गुरुङ (ताप्लेजुङ), पूर्णानन्द शर्मा (झापा), खेमराज पौडेल लगायतका नेताहरु रहेका छन्।


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय