
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो ।
यसअघि तयार गरेको १५ औं योजनाको आधारपत्रका आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले जानकारी दिए ।
त्यस्तै बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको उनले बताए । बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ । बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमहरुका विषयमा समेत छलफल भएको कँडेलले बताए ।
त्यस्तै सार्वजनिक निजी साझेदारी अन्तर्गत गर्नुपर्ने केही कार्यक्रमका विषयमा छलफल भई कार्यान्वयनमा लैजाने निर्णय भएको उपाध्यक्ष कँडेलले जानकारी दिए । बैठकमा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले मुलुकको बिकासका लागि गम्भीर भएर आयोजना अघि बढाउन निर्देशन दिएका थिए । त्यस्तै उनले आयोजना निर्माणमा ढिलाई गर्नेलाई कारवाही गर्न पनि निर्देशन दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय