
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान र नियमावली बमोजिम थप ७ विभागीय प्रमुखहरुको मनोनयन गरेका छन्।
दुई दिनअघि मात्रै १३ वटा विभागका प्रमुखहरुको मनोनयन गरेको सभापति देउवाले सोमबार संशोधिन विधानको दफा ३७ को उपदफा १ को खण्ड (ग) अनुसार थप ७ विभागका प्रमुखको नाम सार्वजनिक गरेका हुन्।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहन बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख बनाएका छन्।
सभापति देउवाले पछिल्लो समय विभाग गठनको विषयमा गरेको निर्णयप्रति असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विभाग गठनको औचित्य नभएको भन्दै सभापतिको कदमप्रति विरोध जनाउँदै आएका छन्।
विधानको व्यवस्थामा २८ विभागको व्यवस्था गरेको भएपनि गत मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले विभागको संख्या बढाएर ४७ पुर्याउने प्रस्ताव राखेका थिए। जसमा पौडेल पक्षको विरोध र अनुपस्थितिका बाबजूद पुस ११ गतेको बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय