हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुको व्यवहार र आचरणलाई जनतासंग जोड्नुपर्ने बेला आएको बताएका छन् । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गर्दै उनले अहिले जनताका भावनालाई सम्बोधन गर्नका लागि नेताहरुको व्यवहार र आचरणलाई जनतासंग जोड्नुपर्ने बेला आएको बताएका हुन्। प्रचण्डले अहिले नेता र पार्टीबीच अर्काका कुरा सुन्न सक्ने र सुन्न नसक्ने दुवै प्रवृति देखा परेको पनि बताए । भरतमोहन अधिकारी अरुका कुरा सुन्न सक्ने, आलोचनाहरुलाई महत्व दिने र मिठो भाषामा टिप्पणी गर्न सक्ने नेताका रुपमा प्रचण्डले स्मरण गरे । उनले स्वर्गीय भरतमोहन अधिकारी कम्युनिस्ट आन्दोलनको अगुवामात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको कुशल व्यवस्थापक भएको धारणा पनि राखे । https://www.facebook.com/himaldainik/videos/188985945721563/?t=0 भरतमोहनजस्ता अगुवा नेताका कार्यशैली, समाजलाई उनिहरुजस्ता व्यक्तिले दिएको योगदानका कारण नै आज कम्युनिस्ट आन्दोलन र आफूहरु यो अवस्थासम्म आइपुगेको प्रचण्डले बताए । कार्यक्रममा अन्य वक्ताहरुले स्वर्गीय अधिकारीको योगदानको चर्चा गरेका थिए । मुटु र फोक्सोसम्बन्धी रोगबाट पिडित अधिकारीको ८३ वर्षको उमेरमा गतवर्ष निधन भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update