हिमाल दैनिक
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अलोकतान्त्रिक र सर्वसत्तावादी क्रियाकलापले मुलुकलाई कम्युनिष्टकरणतर्फ उन्मुख गराएको आरोप लगाउँदै त्यसका विरुद्ध लोकतान्त्रिक शक्तिहरुले सशक्त आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन्। कांग्रेस पार्टीको आसन्न १४औं महाधिवेशनको तयारीमा सक्रिय भएका नेता पौडेलले सोमबार अनामनगरस्थित सामाजिक लोकतन्त्र अध्ययन संस्थाको नामको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै जनताको साथ लिएर सशक्त आन्दोलनको तयारीमा जुट्नु पर्नेमा जोड दिए। गत निर्वाचनमा जनताले लोकतान्त्रिक शासन पद्धतीमा विश्वास गर्दै नेकपालाई करिब करिब दुई तिहाई बहुमत दिएर देशको शासन सत्ता सुम्पिएपनि दुई वर्षको कार्यकालमा नेकपा र यसको नेतृत्वले संविधानको परिकल्पना विपरित राज्यका सबै निकायमा चरम राजनीतिकरण, अनियमितता र भ्रष्टीकरणमा लिप्त भएको आरोप लगाए। उनले भने, ‘कम्युनिष्टलाई दुई तिहाइको बहुमत बाँदरको हातमा नरिबल जस्तै भएको छ।’ साथै उनले यसका विरुद्ध सत्ताभन्दा बाहिर रहेका सबै लोकतान्त्रिक शक्तिहरुबीच गम्भीर वार्ता र एकता गरी शशक्त आन्दोलन र जनदबाब श्रृजना गर्नु परेको बताए। यसका लागि आफ्नो दलले सरोकारवाला दलहरुसँग वार्ता गरिरहेको जानकारी पनि दिए। सन १९९० को दशकमा विश्वबाट कम्युनिष्ट सत्ता ढलेपछि नेपालका कम्युनिष्टहरुले उदारवाद र प्रजातन्त्रवादी नभई राजनीति गर्न नसकिने निश्कर्ष निकाल्दै बहुदलीय जनवादको आवरणमा संसदीय लोकतान्त्रिक शासन व्यवस्थामा अग्रसर भएको पौडेलले बताए। ‘तर, गत निर्वाचनमा करिब करिब दुई तिहाई बहुमत आएपछि ए अब त कम्युनिष्टकै नामबाट जनताको मत लिन सकिने रहेछ भन्ने निचोडमा पुगेर कम्युनिष्ट सत्ताले लोकतान्त्रिक राज्य व्यवस्थालाई कम्युनिष्टकरण र पार्टीकरण गराउन उद्दत भएको छ,’ उनले भने। नेकपाका अध्यक्षहरुले हालै सार्वजनिक गरेको राजीतिक दस्तावेज र सत्ता सञ्चालनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत संविधानको प्रावधान विपरित देशका सबै संयन्त्र पार्टीको नियन्त्रणमा राख्ने र देशलाई नै कम्युनिष्ट ढाँचामा ढाल्ने दिशामा अघि बढेकोमा उनले चिन्ता प्रकट गरे। निर्वाचनमा जनताले नेकपालाई मत दिएको अहिलेको लोकतान्त्रिक शासन व्यवस्थालाई समाप्त पार्दै र त्यो जनमतको दुरुपयोग गर्दै कुनै पार्टी वा नेता विशेषको चाहना र भावना अनुसार संविधान संशोधन गर्नका लागि नभएको पनि पौडेलको दाबी छ। विशेषगरी पछिल्लो समय नेकपाभित्रको शक्ति सन्तुलनका लागि नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र प्रधानमन्त्री बन्नका लागि संविधान संशोधनको प्रक्रियामा सरकार केन्द्रीत हुनुले जनमतको दुरुपयोग र सर्वसत्तावाद उन्मुख भएको प्रमाणित गरेको उनले बताए। संविधानले जनउत्तरदायी सरकारको परिकल्पना गरेर नै प्रतिनिधि सभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था गरेको बताउँदै तर, नेकपाले संविधान संशोधन गरी राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधानको कुरा गर्नु संविधान र यसको मर्म विपरित भएको दाबी उनले गरे। समावेशी र समानुपातिक प्रतिनिधित्वको विषयमा अनुदार रहेका प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय संविधानको विशेषतामाथि प्रहार गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय छलफलमा ल्याएको प्रति पनि उनले आपत्ति प्रकट गरे। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने कुरा अहिलेको व्यवस्था अन्त्य गरी लामो आन्दोलनबाट प्राप्त समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था समाप्त पार्ने काम हो,’ उनले भने। सरकारले सदनमा दर्ता गरेका संविधान विपरितका अनेकन विधेयक र विपक्षीलाई दमन गरी अघि बढ्ने तथा राष्ट्रिपतिलाई सक्रिय बनाउने काम गरिरहेको आरोप उनले लगाए। ‘राष्ट्रपति भवनको विस्तार गरी प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने र राष्ट्रपतिको अधिकार बढाएर कार्यकारी राष्ट्रपतिको अभ्यासको थालनी गर्न खोज्नु सर्वसत्तावाद लाद्न गरिएको कदम हो, यसप्रति म गम्भीर र चिन्तित छु,’ उनले भने। सरकारले देशको चल अचल सम्पत्ति व्यक्ति विशेषको स्वार्थमा लगाउनेदेखि वाइड बढी जहाज खरिद प्रकरण, न्यारो बडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिने तथा विभिन्न ठूला आयोजना विना टेण्डर आफ्नो मन लागेको व्यक्तिलाई दिने र राज्यसत्ता कब्जा गर्ने लक्ष्यले एकपछि अर्को काण्ड मच्चाएको आरोप उनले लगाए। साथै पूर्व संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड कमिशन मागेको विषयमा सरकार र पार्टीको नेतृत्वको इच्छा र चाहनावीना एउटा मन्त्रीले मात्रै केही गर्न नसक्ने बताउँदै पौडेलले सिंगो नेकपा र यसको नेतृत्व मुलुकमा संस्थागत भ्रष्टाचार गरी चुनावमा पैसा खर्च गरेर सत्ता कब्जा गर्न उद्दत भएको आरोप पनि लगाए। कपितय भ्रष्टाचारका विषयमा कांग्रेसका नेताहरु पनि मुछिएको भन्ने प्रश्नको जवाफमा उनले भने, ‘जुन औंलामा विष लाग्दछ त्यहि औँला झर्दछ।’
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update