
देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामा मात्रै गराउन लगाउनु पर्याप्त नभएको जिकिर गरेका छन् ।
गजुरेलले भने,‘यदि स्विस कम्पनीसँग अन्तरविरोध नभएको भए त ? ठूलो मात्रामा भ्रष्टाचार हुन लागेको रैछ नि, २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पुर्याईएको रहेछ, यत्रो ठूलो रकम खाने योजना रहेछ ।’ गजुरेलले मन्त्री बाँस्कोटाको ७ वटा योजनामा एक खर्ब खाने योजना रहेको कुरा पनि मिडियामा आएको सुनाए । उनले थपे,‘अनि हामीले देश विकास होला भनेर कसरी कल्पना गर्ने ?’
https://youtu.be/Rq0WfXiwbJ8
उनले वर्तमान सरकार नै भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाए । ‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको पनि उनको टिप्पणी छ । अहिले सामान्य नागरिकले आफ्ना छोराछोरी पढाउन सक्ने अवस्था नभएको र उपचार गराउन सक्ने अवस्थापनि नभएको चित्रण गर्दै गजुरेलले मुलुकको अवस्था साह«ै चिन्ताजनक रहेको सुनाए । उनले भने,‘सरकारका मन्त्री नै यसरी भ्रष्टाचारमा लिप्त भएपछि मुलुकको यो अवस्था हुनु त सामान्य नै भयो नि ।’
उनले गोकुल प्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने बताउँदै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरे । उनले भने,‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै कडा प्रश्न गरे ।
उनले भने,‘उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उहाँले गोकुल बाँस्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गर्नुभएको छ । अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन्, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’ उनले यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोज्नुभएको त छैन् ? भनेर पनि आशंका व्यक्त गरे । ‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? २ महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भिर छ।’–उनले थपे ।
उनले वर्तमान सरकार अब दुई तिहाईको बलमा टिक्ने अवस्था नभएको पनि चित्रण गरे । उनले भने,‘हामी त सरकारको तमाशा हेरिरहेका छौं । यो व्यवस्था र संविधानमा नै खोट छ, पछिल्ला विभिन्न काण्डले त झनै व्यवस्था र संविधानमाथि प्रश्न खडा भएको छ । यो व्यवस्था र संविधान नै नेपाली जनताको हितमा छैन् । यो परिवर्तन हुनुपर्छ ।’
https://youtu.be/-5TslnH0fLw
उनले यति प्रकरण पनि नेपालको भ्रष्टाचारको नाँगो रुप भएको बताए । उनले भने,‘गोकर्ण रिसोर्टको बारेमा यतिभन्दा बढि तिर्छु भन्ने आउँदा आउँदै सरकारले किन यतिलाई दियो ? यतिलाई यति धेरै संरक्षण किन ? यसमा कि त प्रधानमन्त्रीको सेयर छ ? कि त ठूलो कमिशनको खेल भएको छ ।’ नेपालमा पछिल्लो समय भएका चरम भ्रष्टाचारमा प्रधानमन्त्रीको नै संलग्नता रहेको गजुरेलले गम्भिर आरोप लगाए । उनले भने,‘सबै ठूला–ठूला भ्रष्टाचारमा प्रधानमन्त्रीको संलग्नता छ।’
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय