अग्नि सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न सर्वोच्च अदालतमा रिट दायर
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सभामुख पदका लागि प्रस्तावित उम्मेदवार अग्निप्रसाद सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै शुक्रबार अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा अदालतमा सापकोटाविरुद्ध विचाराधिन मुद्दा रहेकै अवस्थामा उनलाई सत्तारुढ दल नेकपाले प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गराउन लागेको आरोप लगाउँदै त्रिपाठीले उनलाई सभामुख निर्वाचित हुनबाट रोक्न र कानूनी कारबाही अघि बढाउन तत्काल उनलाई पक्राउ गर्नु पर्ने जिकिर गरेका हुन्।
साथै त्रिपाठीले उनलाई सभामुख निर्वाचित गराउने प्रक्रिया रोक्न पनि अदालतको आदेशको माग गरेका छन्।
सापकोटाविरुद्ध अदालतमा विचाराधिन मुद्दा अघि बढाउने वा नबढाउने भन्नेबारे अदालतले माघ २२ गतेका लागि पेसी तोकेको छ।
नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कार्यालयमा कार्यरत महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा असोज १४ गते पदमुक्त भएपछि रिक्त रहेको सभामुख पदका लागि सापकोटाको मात्रै एकल उम्मेदवारी परेको छ। जसमाथि प्रतिनिधि सभामा आइतबार निर्णय हुँदैछ।
सापकोटालाई सभामुख पदका लागि नेकपाले अघि सारेपछि विभिन्न मानव अधिकारवादी संघ संस्थाले उनको विरोधमा सडकमा प्रदर्शन जारी राखिरहेका छन्।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय