स्वास्थ्य परिक्षणका लागि दिल्ली पुगेका नेता पौडेलको रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता

स्वास्थ्य परिक्षण्का लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भारतीय राजनीतिज्ञहरुसँग भेटघाट गर्न सुरु गरेका छन्।
पार्टीभित्र विगत एक महिनादेखि सभापति शेरबहादुर देउवाको कार्यशैलीको चर्को विरोधमा उत्रिएका नेता पौडेल आइतबार साँझ मात्रै सभापति देउवासँग भेटवार्ता गरी सबै समस्याको समाधान वार्ता र सहमतिकै आधारमा गर्ने अनौपचारिक सहमति गरेलगत्तै सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए।
उच्च रक्तचापको समस्या देखिएको कारण नयाँ दिल्लीस्थित अस्पतालमा स्वास्थ्य परिक्षण तथा राजनीतिक भेटघाटको कार्यक्रम लिएर गएका पौडेलले बुधबार सत्तारुढ भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा नरेन्द्र मोदी नेतृत्वको सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका हुन्।
नेता पौडेलले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको जानकारी अनुसार, आज उनले रक्षामन्त्री सिंहसँग दुई देशबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको थियो।
भारतीय रक्षामन्त्रीसँग भएको भेटवार्ताको विस्तृत जानकारी भने केही उल्लेख गरिएको छैन।
पछिल्लो समय भारतले आफ्नो राजनीतिक नक्शामा नेपालको सुदूरपश्चिमको दार्चालामा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी सार्वजनिक गरेपछि नेपालका राजनीतिक दलका नेतादेखि आम जनतामा भारतीय रवैयाको चर्को विरोध हुँदै आएको छ।
जसमा कांग्रेसको नेतृत्वसँगै केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उक्त सीमा विवादको विषयमा कुटनीतिक माध्यमबाट समस्या समाधानको माग गरेको छ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय