असन्तुष्ट पक्षले भेला पारेका जिल्ला सभापतिलाई देउवाले डाके नास्तासहितको छलफलमा

असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले परामर्शका लागि बोलाएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुलाई सभापति शेरबहादुर देउवाले बिहिबार आफ्नो निवासमा ब्रेकफाष्टसहितको छलफलमा बोलाएका छन्।
पार्टीभित्रको विवादका विषयमा सभापति देउवाविरुद्ध अभियान चलाएका पौडेल पक्षका नेताहरुसँग तीन दिनसम्म पार्टी कार्यालयमा परामर्श गरी बुधबार निष्कर्षसहितको ज्ञापन पत्र तयार पारेका सभापतिहरुलाई सभापति देउवाले बुढानिलकण्ठ बोलाएपछि भोलि बिहान उनीहरुसँगै राजधानीमा उपलब्ध सबै सभापतिहरु जम्मा हुने भएका छन्।
वर्दिया कांग्रेस सभापति संजय गौतमले आफूहरुले पनि सभापति देउवासँग भेटको समय खोजिरहेको बेला सभापति देउवा आफैँले बिहानको नास्तासहितको भेटघाटमा बोलाएपछि आफूहरुले परामर्शका क्रममा निस्किएको निचोडसहितको ज्ञापनपत्र भोलि नै सभापतिलाई दिने जानकारी दिए।
तीन दिनसम्म चलेको परामर्शका क्रममा जिल्ला सभापतिहरुले सत्तामा कम्युनिष्ट अतिवाद रहेको र पार्टी अप्ठ्यारो अवस्थामा रहेकोबेला नेतृत्वले विवेकपूर्ण ढंगले अघि बढाएर पार्टीलाई जोगाउनु पर्ने धारणा राखेका थिए।
साथै उनीहरुले सहमतिकै आधारमा महाधिवेशनको कार्यतालिका ल्याउने तथा विधानका प्रावधानहरु जथाभावी निलम्बन गरेर महाधिवेशन प्रभावित पार्ने कार्यसँगै पार्टीभित्र असन्तुष्ट पक्षले हरेक स्थानमा भागवण्डाको राजनीति गरेर नेतृत्वलाई असहयोग गर्न नहुने सुझाव दिएका छन्।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय