अन्नपूर्ण क्षेत्रको लागि मात्र होइन, देशकै लागि मैले धेरै गर्नु छः दाहाल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले आफ्नो बाँकी जीवन विकास निर्माण र समृद्धिमा केन्द्रीत रहने बताएका छन्।
शनिबार काठमाडौंमा अन्नपूर्ण–काठमाडौं समाजको साधारण सभामा दाहालले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको बताउँदै आफूँ सिंगो देश र जनताकै हितमा समर्पित गर्ने बाचा दोहोर्याए।
उनले आफू जन्मिएको स्थान अन्नपूर्ण गाउँपालिकाको विकासका लागि जे जति गर्नु पर्ने थियो त्यति गर्न नसके पनि अबको दिन देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको बताए।
पूराना संरचनामा बानी परेकोले नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको भन्दै दाहालले देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने पनि बताए।
अहिलेको सरकारले समृद्ध नेपाल निर्माणको लागि नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको भन्दै नेपालको हावापानी वातावरण आफैँले पर्यटन तान्ने खालको रहेको धारणा राखे। साथै उनले कास्कीको पर्यटकीय केन्द्रका रुपमा रहेको अन्नपूर्ण र त्यस क्षेत्रलाई आगामी तीन वर्षभित्र नमूना गाउँपालिकाको रुपमा स्थापित गर्न सकिने विचार व्यक्त गरे।
परिवर्तनका नायकहरूलाई राजा महाराजाहरूले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी रहेको उनले बताए।
दाहालले विदेशी शक्तिसँग पछि हटेका राजा महाराजाले नगरेको काम गणतन्त्र आएपछि नेकपा सरकारले खोजी गरेकोसमेत दाबी गरे।
त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मुलुकको बिकासको बाटोमा अघि बढिरहेको भन्दै सबै गम्भीर भएर हात्तेमालो गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय