प्रमको प्रेस सल्लाहकारमा थापा

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा. कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो।
नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए। नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन्।
थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन्।
यसअघि प्रेस सल्लाहकार रहेका कुन्दन अर्यालसहित प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेलले राजीनामा दिएसँगै उनी नियुक्त भएका हुन्।
त्यस्तै जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञका रुपमा नियुक्ति लिएका घनश्याम भट्टराई, प्रधानमन्त्रीका सम्बोधनहरू तयार पार्ने (डिकोडर) उदय पोखरेलले पनि सचिवालय छोडेका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय