सीमा समस्याको कुटनीतिक माध्यमबाट समाधान खोज्ने जिम्मा सरकारकै

तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुले सरकारलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा सीमाविद्धहरुले सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास नै महत्वपूर्ण विकल्प भएको बताए।
बैठकमा पूर्वप्रधानमन्त्रीहरुले भारतीय प्रधानमन्त्रीसँग समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न पनि सुझाव दिएका थिए। पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले यस बिषयमा छिटै सरकारले भारतसंग कुरा गर्नुपर्ने सुझाव दिए।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सुझाव दिएको जानकारी दिए।
राजनीतिक सङ्क्रमणकालको अन्त्यपछि सबै राजनीतिक दल आ– आफ्नो राजनीतिक कर्ममा सक्रिय भएको भए पनि राष्ट्रिय विषयमा एक ठाउँमा उभिनुपर्ने उनको धारणा थियो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस बिषयमा आएका सुझावहरुलाई आत्मसाथ गर्दे सरकार अघि बढ्ने जानकारी दिए।
यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाली सीमा मिचिएको विषयमा सबै राजनीतिक दल र सरोकार भएका सबैले एकमतले विरोध गर्नुपर्ने बताए।
पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले तथ्य र प्रमाणका आधारमा नेपालले आफ्नो भूमिको रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको बताए।
भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भू–भाग पारेको भन्दै नागरिकस्तरबाट विरोध भइरहेको छ।
नेपालको भूभाग मिचिएको विषयमा चौतर्फी विरोध भइरहेकोबेला प्रधानमन्त्री ओलीले त्यस समस्याको समाधानका लागि कुटनीतिक पहल चाल्नु अघि देशभित्रका सबै शक्तिहरुबीच एकताको भावनासहितको धारणा तय गर्न सर्वपक्षिय बैठक बोलाएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय