हिमाल दैनिक
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा राष्ट्रपति भण्डारीकै नातेदार डा. बाँस्कोटाकाे नियुक्ति
Dharmakanta
संविधानले आलंकारिक संस्था भनेपनि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका कार्यकारी अधिकारमाथि हस्तक्षेप गर्नेगरी हुन थालेको प्रतित हुँदैछ। यसको पछिल्लो उदाहरण हो, लामो समयदेखि रिक्त रहेको देशकै सबैभन्दा ठूलो र पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा डाक्टर धर्मकान्त बाँस्कोटाको नियुक्तिको सिफारिस। विगत केही महिनादेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा सिफारिस समितिले डाक्टर भगवान कोइराला, बाँस्कोटा र चन्द्रमणी पौडेललाई सिफारिस गरेको थियो। यसअघि त्रिवि सेवा आयोगमा पूर्व एमाले निकटका व्यक्तिलाई सिफारिस गरी नियुक्ति गरेपछि सहकुलपतिको हैसियतमा रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पूर्व माओवादी निकट पौडेललाई उपकुलपतिमा नियुक्त गर्न चाहेका थिए। स्रोतका अनुसार, प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली भने डाक्टर भगवान कोइरालाको पक्षमा थिए। तर, एकाएक राष्ट्रपति भण्डारीले आफ्नो पारिवारिक नाता सम्बन्ध भएका बाँस्कोटाको नाम अघि सारेपछि पदाधिकारी नियुक्तिको प्रक्रिया अलमलमा परेको थियो। तर, बुधबारदेखि मृगौलामा देखिएको समस्याका कारण नियमित स्वास्थ्य परिक्षण र उपचारमा रहेका प्रधानमन्त्री तथा कुलपति ओलीले राष्ट्रपतिको चाहना बमोजिम नै बाँस्कोटालाई उपकुलपतिमा नियुक्ति दिने निर्णय गरे। नवनियुक्त उपकुलपति बाँस्कोटा नाताले राष्ट्रपतिका स्वर्गिय पति मदन भण्डारीको भान्जा पर्ने स्रोतले बतायो।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update