ग्राण्डी अस्पतालले बल्ल भन्योः प्रम ओलीको हेमोडायलाइसिस भयो
अचानक स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाले काम नगरेपछि हेमोडायलाइसिस गरिएको छ।
बुधबार राजधानीको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको बताउँदै आएको अस्पतालले बिहीबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै ओलीको हेमोडायइलासिस गरिएको जानकारी दिएको हो।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार, आजै प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ।
बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको हिँजो र आज गरी दुई पटक डायलाइसिस गरिएको छ।
बिहिबार पत्रकार सम्मेलन गर्दै अस्पतालका निर्देशक विशेषज्ञ डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले राम्रो भएको जानकारी दिए। अस्पताल आउँदा रगतमा क्रियाटिनको स्तर माथि रहेपनि डायलाइसिस गरेपछि अहिले अवस्था सामान्य रहेको उनले बताए। पाण्डेले प्रधानमन्त्रीको अगाडिको उपचार प्रक्रियाका बारे डा. दिव्यसिंह शाहले नै निर्णय लिने बताए।
प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलाइसिस गरिएको हो। प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेपछि भदौ पहिलो साता उनी सिंगापुरस्थित अस्पतालमा पुगेर प्लाज्माफेरेसिस पद्धतीको उपचार गरी फर्किएका थिए।
प्रेस विज्ञाप्ति:
https://himaldainik.com/2019/10/31/76295/

प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय