महराको वयान र अनुसन्धान नसकिएपछि हिरासतको बास अझै लम्बियो

बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसद कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ।
बिहिबार काठमाडौं जिल्ला अदालतले प्रहरीले उक्त विषयमा अनुसन्धान नसकिएको भन्दै म्याद थपको माग गरे अनुसार सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसअघि प्रहरीले महरामाथि लागेको मुद्दामा पर्याप्त अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा उपस्थीत गराइएको थियो।
गत आइतबार काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, त्यसयताको समयमा पनि स्वास्थ्य समस्या देखाउँदै महराले प्रहरी समक्ष वयान दिन इन्कार गरेपछि उक्त विषयमा अदालतको म्याद थप प्रक्रियाले निरन्तरता पाएको हो।
संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीमाथि असोज १२ गते जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महरालाई बालुवाटारस्थित सरकारी निवासबाट १९ असोजमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
शाहीले असोज १६ गते महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पुगेर महराबिरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
तर, उनले पछि पटक पटक आफ्नो वयान फेर्दै कहिले महराले आफूमाथि बलात्कार गरी हातपात गरेको भन्ने त कहिले उनी आफ्नो बुबा जस्तो भएकोले आफूलाई केही नगरेको भन्ने विवादस्पद अभिव्यक्ति दिएर उक्त मुद्दालाई झन रहस्यमय र थप विवादित बनाउँदै आएकी छिन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय