हिमाल दैनिक
प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताव आलमको विषयमा शुक्रबार दिएको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल र समाचार माध्यममा आएको चर्को आलोचना पश्चात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै त्यसबारे उत्पन्न अस्पष्टता र अन्यौलता चिर्ने प्रयास गरेका छन्। शनिबार ‘सबै अस्पष्टता र अन्यौलता निवारणर्थ’ शीर्षकमा एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न यो विज्ञप्ति जारी गरेको बताएका छन्। ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै। १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ,’ देउवाले विज्ञप्तिमा भनेका छन्। ‘तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन। मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ। निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ उनले भनेका छन्। पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले १२ वर्ष अगाडि घटेको भनिएको घटनालाई यतिका वर्षसम्म राज्यले के हेरेर बसेको थियो र अहिले कारबाहीको कुरा आयो भनि प्रश्न गरेको विषयमा समाचार माध्यम र सामाजिक सञ्जालमा देउवाप्रति चर्को आलोचना मात्र होइन कतिपय उनैको दलका नेता कार्यकर्ताले समेत आलोचना गरिरहेका छन्। [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2019/10/nepali-congress.pdf" title="nepali congress"] https://www.facebook.com/himaldainik/videos/2413605772241178/?t=1 https://himaldainik.com/2019/10/18/75630/
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update