डलर र युरोको प्रभावमा पत्रकारले सभ्यता बिर्सीए भन्ने प्रम ओलीले के को प्रभावमा ‘बाउ’ शब्द प्रयोग गरे?

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमी सभ्यतासँगै डलर र युरोको प्रभावमा परेर नेपाली सञ्चारमाध्यम र पत्रकारले सामिजिक शिष्टता र मर्यादा बिर्सीएको आरोप लगाएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पत्रकारिता र सामाजिक सञ्जालमा प्रयोग हुँदै आएका शब्दप्रति आपत्ति जनाए।
‘अहिले हामीले नेपाली समाज हेर्यो भने सामाजिक सञ्जाल हेर्यो भने, सभ्यताका पर्खालहरु बाङबुङ भत्काइएको छ। शिष्टता, मर्यादा केही पनि छैन,’ प्रधानमन्त्री ओलीले आसन्तुष्टि जनाउँदै भने। उनले थप्दै भने, ‘पत्रकारले बाउलाई पनि तपाई भन्दैन। तिमी भन्दा माथि उठ्दैन।’
सभ्यता, शिष्टता र मर्यादाको विषयमा चिन्तित बनेका प्रधानमन्त्री ओलीले पत्रकारलाई होच्याउने क्रममा जसरी वाक्यांश प्रयोग गरे त्यसक्रममा नेपाली समाजमा सभ्यता र मर्यादाभन्दा बाहिर पर्ने गरी ‘बाउ’ शब्दको प्रयोग गर्दा आफूले मर्यादा कायम गरेको वा नगरेको भन्ने केही उल्लेख गरेनन्।
https://www.facebook.com/himaldainik/videos/4011230689206359/?t=153
यसरी पत्रकारीतामा प्रयोग हुने भाषामा पश्चिमा सभ्यताको प्रभाव रहेको भन्दै उनले भने, ‘अंग्रेजीको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाई भन्न गाह्रो भएको छ। किन भने पैसावाला, डलरवाला, युरोवालाहरु ‘यु’ ले काम चलाउँछन् भने हामी पनि काम नचलाउने भनि सभ्यता त त्यो रहेछ भन्ने भ्रम परेको छ।’
सानालाई तिमी र ठूलालाई तपाई भन्ने समाजको आफ्नै प्रचलन र मर्यादा हुने बताउँदै उनले यसलाई विर्सने क्रम बढेको बताए।
नेपाली समाजसँग भएको कला, साहित्य, संस्कृति लोभलाग्दो रहेको बताउँदै प्रधानमन्त्री ओलीले सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले यसको सम्पन्नतालाई प्रवद्र्धन गर्दै आपसी सहकार्यबाट यी देशको आर्थिक समृद्धि वर्तमानको कार्यभार भएको बताए।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको पनि उनले बताए।
सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता रहेको छ।
सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुने बताइएको छ। यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय