प्रचण्डपथलाई तिलाञ्जली दिएर सि पथ अंगालेका दाहालले भनेः अब कुखुरा जस्तो होइन, चिल झैँ उडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको कामले अन्तिम रुप लिएसँगै अब पार्टीका गतिविधिले रफ्तार लिने बताएका छन् । नेकपा सम्पर्क समन्वय कमिटीद्वारा आज आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी गतिविधि घिसिपिटी तरिकाबाट होइन, अब फड्केर अगाडि बढ्ने बताए । “छिट्टै केन्द्रीय समितिको बैठक बसेर निश्चित योजना र कार्यक्रमका साथ देशैभरि हामी जनता र कार्यकर्तासँग एउटै मन, विचार बनाउन सम्पूर्ण तागत लगाउँछौँ”, ठूलो सङ्ख्यामा रहेका सङ्गठित सदस्य एक वर्षदेखि निस्क्रिय बस्दा पार्टीले निकै ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “हामीलाई के विश्वास छ भने यति ठूलो नेता कार्यकर्ता र लाखौँ शुभचिन्तक भएको पार्टी एकपटक एउटै विचार, मन, सङ्कल्प र प्रतिबद्धता गरेर अभियानमा गयो भने जनताका दुश्मन आफैँ बढारिएर जानेछन् ।” जनताले सङ्घर्ष गरेर ल्याएको व्यवस्थाका विरुद्ध षडयन्त्र गर्नेलाई त्यसै नछाडिने उद्घोष गर्दैै उनले जनताको विपक्षमा गतिविधि नगर्न चेतावनी दिए । “हिजो हामीले निकै बलिया भनिएका तत्वलाई पनि तह लगाएर आएका हौँ, त्यसकारण हामीले त्यो शक्ति देखाउनुछ, देखाउछौँ”, उनले भने, “तपाईंहरु आआफ्नो ठाउँबाट योगदान गर्ने सङ्कल्प गर्नुहोस् हामी पार्टी नेतृत्वको हैसियतले तागत लगाउँछौँ ।” नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनले धेरै ठूलो सङ्घर्षबाट मुलुक वर्तमान अवस्थामा आइपुगेको स्मरण गर्दै अध्यक्ष दाहालले पार्टीको प्रमुख नेतृत्वको साहसिक निर्णयले गर्दा आज देशको राजनीतिक नक्सा नै असाधारण ढङ्गबाट बदलिएको बताए । “नेपालको कम्युनिष्ट पार्टी लोकप्रिय मतका साथ सत्तामा पुग्छ, मुलुक राजनीतिक स्थायित्वमा प्रवेश गर्छ भन्ने देशभित्र र बाहिरका धेरैले सोचेका थिएनन्”, उनले भने, “अझ बुर्जुवा प्रतिक्रियावादीले त कल्पना पनि गर्न सकेका थिएनन्, तर हामीले त्यो कुरा गरेर देखायौँ । झण्डै असम्भव लाग्ने कुरालाई सम्भव बनाएको छौँ ।” स्थापनादेखि अहिलेसम्मको यात्रामा कम्युनिष्ट आन्दोलन असाधारण एकतामार्फत राज्यको नेतृत्व गर्ने अवस्था आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट आन्दोलनले एक्काइसौँ शताब्दीमा विश्वलाई एउटा उदाहरण प्रस्तुत गरेको बताए। पार्टी एकतामा भएको ढिलाइका कारण स्वभाविक रुपमा प्रश्न उब्जिएको बताउँदै उहाँले ढिलै भए पनि एकता एकीकरणले लगभग अन्तिमरुप लिएको जानकारी दिए । अध्यक्ष दाहालले भने, “लगभग एकता एकीकरणको काम सकिएको छ । निकै थोरै मात्र बाँकी छ । अब दुई/चार घण्टाको छलफलपछि एकताका बाँकी काम सम्पन्न हुन्छन् ।” “नेतृत्व तहबाट केही जोखिम उठाउँदै, असाधारण पहलकदमी गर्दै आजको परिस्थिति बनेको हो । त्यति सजिलै आजको अवस्था आएको होइन”, अध्यक्ष दाहालले भने, “हामीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले दयामाया गरेर शक्तिशाली बनाएको होइन, हामी आफ्नै पौरख र मेहनतले, जनतासँगको अपार प्रेम र विश्वासिलो सम्बन्धका कारण एक ठाउँमा आएको हो । हामीलाई उतारचढावको राम्रो ज्ञान छ ।” नेकपाको गतिविधिले अब रफ्तार लिएको उल्लेख गर्दै उनले भने, “अब नेकपाको उडान शुरु भएको छ । कुखुराले झै खोस्रिनेसम्म हामीले खोस्रिसक्यौँ, कुखुराजस्तै झण्डै एक वर्ष लुटपुटियौँ, अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला अबको एक वर्षमा नेकपा सम्पूर्ण जनताको एकमात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।” अहिलेको नेतृत्व पङ्क्तिको जीवन ठूल्ठूला फड्काको बीचबाट अगाडि बढेको सन्दर्भ पेश गर्दै उनले नेतृत्वका बारेमा शङ्का उपशङ्का नगर्न आग्रह गरे। एकाथरी मान्छेले दुई/चार वटा हल्ला गर्दैमा नेकपा चुप लागेर नबस्ने भन्दै उहाँले नेकपालाई कमजोर ठानिए त्यो उनीहरुको मुर्खता हुने बताए । “लाखौँ, करोडाँै जनताको नेतृत्व गर्ने पार्टी त्यतिकै चुप लागेर बस्छ भन्ने सोचियो भने त्यो उनीहरुको मुर्खता सिवाय केही होइन”, अध्यक्ष दाहालले भने, “हामी आफ्नो बाटोबाट फर्कन सक्दैनौँ । हामी आफ्नो गन्तव्यसम्म पुगी छाड्ने छौँ । त्यो विश्वास नेतृत्व तहमा हामी पैदा गरिराख्या छौँ ।” अबको एक वर्षपछि नेकपाको गतिविधिलाई सस्तो टिप्पणी गर्ने प्रतिक्रियावादीको हालत प्रष्ट देखिने उल्लेख गरे । “एकपल्ट हामीले सङ्कल्प गर्न, मुठ्ठी उठाउन मात्रै ढिला भएको हो, हामीले एकताको सङ्कल्प गरेर प्रतिबद्धता साथ अभियानमा हेलिने बित्तिकै यो देशमा एउटा पाँच वर्ष होइन, त्यस्ता कयौँ अवधिसम्म जनताको लोकप्रिय मतसहित समाजवादी समाज निर्माण गर्न सफल हुनेछौँ ।” तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले अङ्गीकार गरेको विचारको सकारात्मक भावलाई नेकपाले ग्रहण गरेको छ भन्दै उनले नेता कार्यकर्तामा विचारको सन्दर्भमा कुनै भ्रम नपाल्न आग्रह गरे । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले सानो चित्त, मन गरेर, तेरो र मेरो भन्ने ठाउँबाट धेरै माथि उठिसकेका छौँ, कुनै भ्रम पाल्नु जरुरी छैन ।” दुई ठूला पार्टीबीचको एकता उत्कर्ष होइन भन्दै उनले यो त शुरुआतमात्र भएको बताए । अध्यक्ष दाहालले भने, “यो हाम्रो शुरुआत हो, उत्कर्षमा त हामी पुग्न बाँकी नै छ । त्यसकारण सबै एकढिक्का भएर नयाँ नयाँ उचाइ र उत्कर्षतर्फ पुग्दै नेपाली समाजलाई अग्रगति दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपनालाई पूरा गरेर समाजवाद निर्माणको महाअभियानमा अगाडि बढ्ने सङ्कल्प ग¥यौँ ।” आत्मविश्वासका साथ अगाडि बढाैँ, हाम्रो भविश्य उज्जवल छ । हामी जित्छौँ, हामीले जित्नुपर्छ, यो देशमा अरु कसैले जितेर यो देशको भलो हुनेवाला छैन । रासस“अब नेकपाको उडान शुरु भएको छ । कुखुराले झै खोस्रिनेसम्म हामीले खोस्रिसक्यौँ, कुखुराजस्तै झण्डै एक वर्ष लुटपुटियौँ, अब चिलले जस्तो उडान भर्ने समय आएको छ। हेर्नुहोला अबको एक वर्षमा नेकपा सम्पूर्ण जनताको एकमात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।”
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय