हिमाल दैनिक
नेपाली कांग्रेसमा एकीकरण गरेको झण्डै दुई वर्ष पश्चात मात्रै नेपाल लोकतान्त्रिक फोरम पार्टीका ११ जना नेताहरुले कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रवेश पाउने भएका छन्। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित पाँच सदस्यीय समायोजन समितिले तयार पारेको प्रतिवेदन अनुसार, फोरम लोकतान्त्रिकका तर्फबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा ११ जना सदस्यलाई मनोनित गर्ने सहमति जुटेको छ। शुक्रबार अपरान्हका लागि बोलाइएको केन्द्रीय समिति बैठक पूर्व समायोजन समितिले हस्ताक्षर गरी साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रस्ताव अनुसार, फोरमका ११ जना नेताहरुले कांग्रेस केन्द्रीय सदस्यको स्थान पाउने छन्। महासमिति र महाधिवेशन प्रतिनिधिको हकमा यसअघि सम्पन्न महासमिति बैठकमा फोरम लोकतान्त्रिकबाट प्रवेश पाएका २ सयमध्ये १४८ पर्यवेक्षक पनि महाधिवेशन प्रतिनिधि रहने तथा थप २५२ प्रतिनिधि थप गरी कूल ४५२ जना पुग्ने छन्। केन्द्रीय विभाग तथा प्रदेश कार्यसमिति गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखि गरिने भनिएपनि जिल्ला कार्यसमितिको हकमा मोरङ, सुनसरी, कैलाली, बर्दिया लगायतका १३ जिल्लामा उपसभापति र निश्चित संख्यामा सहसचिव र सदस्यहरुको स्थान सुरक्षित गरिएको छ। तर, क्रियाशील सदस्यताको हकमा अझै पनि समायोजन समितिले टुंगो लगाउन सकेको छैन।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update