हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको अकर्मण्यताका कारण संविधान र संविधानले व्यवस्था गरेको शासन प्रणाली नै खतरामा परेको भन्दै सरकारकाविरुद्ध जनतामा सशक्त रुपमा जान दबाब बढेको छ। खासगरी पछिल्लो समय सरकारले संवैधानिक निकायदेखि स्वतन्त्र न्यायालय, सेना, स्वतन्त्र प्रेस, मानव अधिकार र राज्यका सबै अंगहरुमाथि नियन्त्रण र निगरानी गर्दै संविधान जनअपेक्षा विपरित गतिविधि गरेको कारण जनतामा चरम निराशा छाएको भन्दै नेताहरुले जनताको भरोसा जगाउने गरी कांग्रेस अघि बढ्नु पर्नेमा जोड दिए। कांग्रेस मुख्यालय सानेपामा बिहीबार बसेको कन्द्रीय कार्यसमिति बैठकमा पार्टी नेताहरुले पछिल्लो समय चितवन लगायतका स्थानमा देखिएको जनताको आक्रोस र असन्तुष्टि संविधान र राज्य व्यवस्थाप्रति भन्दा पनि सरकारको गलत क्रियाकलापका दुश्परिणाम भएको बताए। सधैँ जसो पार्टी नेतृत्वको कार्यशैली र क्रियाकलापको कटु आलोचना गर्न समय खर्चिने असन्तुष्ट पक्षका नेताहरुले पनि आजको बैठकमा आन्तरिक असहमति र असन्तुष्टिलाई थाती राखेर जनताको माझमा संविधान, व्यवस्था र लोकतान्त्रिक व्यवस्थाको रक्षार्थ सन्देश पुर्याउन जोड दिएका थिए। पार्टी नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रका आन्तरिक कमिकमजोरी सधैँ कोट्याएर मात्रै नहुने भन्दै नेतृत्व चयनका लागि प्रतिस्पर्धा गर्ने बेला अर्थात महाधिवेशन आएपछि गरौंला तर, अहिले नै त्यहि कुरा गरेर समय व्यथित गर्यो भने पार्टी थप कमजोर हुने धारणा राखेका थिए। उनले अहिले सत्तामा पनि लोकतान्त्रिक शासन व्यवस्था र कानूनी राज्यप्रति विश्वास नगर्ने कम्युनिष्ट र बाहिर पनि लोकतन्त्र विरोधी कम्युनिष्टदेखि प्रतिक्रियावादी शक्तिहरु सलबलाएको बेला सरकारको कमिकमजोेरी केलाएर त्यसकाविरुद्ध पार्टी सशक्त र एकताबद्ध भई जनताका जानुको विकल्प नभएको धारणा राखेका थिए। उनले पछिल्लो समय कम्तिमा पार्टीले राष्ट्रिय जागरणको अभियान चलाएर नेता र कार्यकर्ताबीचको दुरी कम गर्ने र एकहदसम्म गाउँका कार्यकर्तामा नयाँ उर्जा दिने कार्यले राम्रो सन्देश दिएको बताएका थिए। गरे कसरी हुन्छ। जागरण अभियानले राम्रै उर्जा दियो। कतिपय कमीकमजोरी थियो भएपनि कम्तिमा गाउमा कार्यकर्तामा राम्रा सन्देश गएको छ। त्यसैगरी पार्टी रामशरण महतले वर्तमान सरकारको गलत नीति र गतिविधिका कारण देशको आर्थिक अवस्था जर्जर भएको भन्दै यसले विदेशी लगानी त परको कुरा स्वदेशी लगानी र शेयर बजारको भाउ समेत घटेको बताए। सरकारले पुराना विकास निर्माणका योजनामा बजेट कटाएर त्यी कार्यक्रमलाई अलपत्र पार्ने काम गर्नुका साथै वित्तिय अनुशासन कायम गराउन नसक्दा सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विश्वास घटेको विषयलाई पार्टीले सदनभित्र र बाहिर सशक्त रुपमा उठाउनु पर्ने धारणा राखेका थिए। धनराज गुरुङले पार्टीको नर्सरीका रुपमा रहेको नेपाल विद्यार्थी संघको नेतृत्व लामो समयदेखि रिक्त रहँदा संगठन नै कमजोर भएको भन्दै सभापतिले आफूलाई भरोसा लागेको व्यक्तिलाई नेतृत्व दिएर संगठनलाई गति दिन सुझाव दिएका थिए। आफूलाई तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले नेवि संघको नेतृत्व दिएर बाँकी पदको परिपूर्ति गर्न दिएजस्तै अहिले नेवि संघभित्र यो वा त्यो पक्षको यति र उति भागवण्डा भन्दा नेतृत्वको विश्वासमा समितिलाई क्रियाशील बनाउनु उपयुक्त हुने सुझाव दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। आजको बैठकमा अर्जुननरसिंह केसी, फरमुल्लाह मन्सुर, बलबहादुर केसी, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव, नविन्द्रराज जोशी, देवेन्द्रराज कँडेल, कमला पन्त, महेन्द्र यादव, मोहनबहादुर बस्नेत लगायतले आफ्ना धारणा राखेका थिए। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न भातृ संस्थाहरुको संशोधित विधान, समय सकिएका भातृ संस्थाको अधिवेशन, नयाँ दर्ताका लागि आवेदन दिएका भातृ संस्था र शुभेच्छुक संस्थाको विषयका अतिरिक्त सहमहामन्त्री प्रकाशशरण महतको राजनीतिक प्रस्ताव छलफलका लागि पेश भएको थियो। गत महिनादेखि बिचबीचमा बस्दै र स्थगित हुदैँ आएको बैठक सम्भवत् शुक्रबार सकेर कांग्रेसले भदौ २४ देखि असोज ७ सम्म गर्ने भनिएको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम आइतबारसम्ममा सार्वजनिक गर्ने तयारी भइरहेको प्रवक्ता शर्माले बताए।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update