हिमाल दैनिक
शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्न सरकारको आदेश
parvat-gurung
सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका मुख्य सहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द सहितको आदेश जारी गरेको छ । सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले मुख्य सहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने सहितको आदेश जारी गरेको जानकारी दिएका हुन् । उपत्यकाका सबै नगरपालिकाहरु, मेचीनगर, विराटनगर वीरगञ्ज, भरतपुर, पोखरा, जनकपुर, नेपालगञ्ज, धनगढी, सिद्धार्थनगर, इटहरी, बनेपा, धरान, दमक, राजविराज, धुलिखेल, वीरेन्द्रनगर, भीमदत्त नगरका सबै शैक्षिक संस्था बन्द गर्न सरकारले आदेश दिएको छ । परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पनि सरकारले आदेश दिएको छ । अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ । त्यस्तै होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने व्यवस्था गरिएको छ त्यसपछि भने होम डेलिभरी मात्र गर्न पाइने प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाइने उनले बताए । ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको प्रवक्ता गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्ले सिनेमा हल, पार्टी प्यालेश, जिमखाना, फुटसल, सभा, आमसभा, जुलुस,दर्शकसहितको खेलकुद पनि बैशाख मसान्तसम्म रोक लगााउने निर्णय गरको छ । सरकारले जारी गरेको आदेश अटेर गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update