हिमाल दैनिक
बाढीले हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त
badhi-pahiro-melamchi
अविरल बर्षासंगै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा क्षति पु-याएको छ । बाढीका कारण बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । जिल्ला प्रहरीका अनुसार दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको हो । हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ । हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् । यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन । बाढीले दर्जनौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने सात जनाको शव फेला परेको छ । यसअघि मंगलबार साँझ पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथी भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो भने हेलम्बु गाउँपालिका १ मेलम्ची खानेपानी मुहान माथी नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।  
प्रकाशित मिति: बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update