हिमाल दैनिक
बिएण्डसी मेडिकल कलेजलाई कि सम्बन्धन देऊ कि सधैंका लागि बन्द गरिदेऊ: दुर्गा प्रसाई
durga-prasai
प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन माग गरेका छन् । उनले सम्बन्धन नदिने भएसरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले पटक–पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको बताए । सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने काम भएको उनको भनाइ छ । प्रसाईंले मेची अञ्चलबासीको धरोहर रहेको आफ्नो संस्थालाई ध्वस्त र तहस नहस पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन खोजेको जिकिर गरे । प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगको बैठकबाट डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा.भोजराज अधिकारी, प्राडा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले अहिलेसम्म रिपोर्ट पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उनले आपत्ती जनाएका छन् ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update