तोकिएकै समयमा महाधिवेशन गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग
                        
                        
                                                
                                            
                        नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा गर्न माग गरेका छन् ।
पार्टीले तय गरेको महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रैबाट उत्पन्न विवाद र अन्यौलताबीच काठमाडौंमा उपलब्ध करिब दुई दर्जन पार्टी जिल्ला सभापतिहरुको शुक्रबार बसेको बैठकले पूर्वनिर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न नेतृत्व तथा जिम्मेवार निकार्यको ध्यानाकर्षण गराएका हुन् ।
सभापतिहरुको बैठकको निर्णय सञ्चारकर्मीमार्फत जानकारी गराउँदै बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मकवानपुर जिल्ला पार्टी सभापति इन्द्रबहादुर बानियाँले कुनै पनि बहानामा पार्टी महाधिवेशनको तिथि मिति प्रभावित पार्न नहुने निष्कर्ष आफूहरुको रहेको बताए ।
भक्तपुर जिल्ला पार्टी सभापति दुर्लभ थापाको संयोजनमा भएको बैठकमा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिबाट तय गरी पारित गरिएको मितिमै महाधिवेशन सम्पन्न गर्न व्यक्त गरेको प्रतिबद्धताप्रति आफूहरुको पूर्ण साथ र समर्थन रहेको जानकारी सभापति बानियाँले दिए ।
विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्ताको समायोजनबारे गठित समितिले दिएको प्रतिवेदनका आधारमा जिल्ला तहबाट प्रक्रिया पूरा गरी क्रियाशील सदस्यताका लागि पठाइएको सिफारिसमा केन्द्रीय तहमा पुनः विवाद बल्झाएर महाधिवेशनको कार्यतालिका प्रभावित गर्न खोजिएको आशंका जिल्ला सभापतिहरुको भेलाले गरेको पनि उनले बताए ।
वारासहित केही जिल्लामा देखिएको क्रियाशील सदस्यता वितरणको विवादलाई देखाएर सींगो पार्टीको महाधिवेशन नै पर सार्दै पार्टीलाई अन्यौलग्रस्तस्थितिमा धकेल्न कुनै हालतमा नमिल्ने निष्कर्ष निकाल्दै जिल्ला सभापतिहरुले तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् ।
साथै उनीहरुले पार्टी सभापतिले साउन २८ गतेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकबाट क्रियाशील सदस्यता विवादमाथि गहन छलफल र सहमतिमार्फत समाधान खोज्दै महाधिवेशनको सुनिश्चितताका लागि निश्कर्षमा पुग्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
वारा लगायत केही जिल्लाको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधानका लागि शीर्ष नेतृत्वलाई जिम्मा दिइएकोमा त्यसका लागि सभापति देउवाले पार्टीका सम्बन्धित शीर्ष नेतृत्वलाई छलफलमा आउन वा प्रतिनिधि पठाइदिन पटक पटक आग्रह गर्दा पनि एक पक्षले नियोजित रुपमा असहयोग गर्ने र प्रतिनिधि समेत नपठाइदिने जस्ता गतिविधि गर्दा अन्यौलता थपिएको सभापतिहरुको बैठकको बुझाइ छ ।
नेपालको संविधान र पार्टीको विधान अनुसार, पछिल्लो पटक तय गरिएको मिति भदौ १६ देखि १९ गतेभित्रै महाधिवेशन गर्नु पर्ने साझा दायित्व र जिम्मेवारी सबै नेता, कार्यकर्ताको पनि भएको बानियाँले बताए ।
साथै सभापति बानियाँले कोरोना महामारीको चुनौतिका बाबजूद पनि पार्टीको लोकतान्त्रिक जीवन पद्धतीलाई जीवन्त राख्न लोकतान्त्रिक र व्यवहारिक ढंगले सकभर सहमतिमा र नभए विधि, विधान र प्रक्रियामार्फत बढि भन्दा बढि क्रियाशील सदस्यको सहभागितामा वडादेखि जिल्ला र केन्द्रीय तहसम्मको महाधिवेशन सम्पन्न गर्न जोड दिए ।
पार्टीमा आबद्ध आम कार्यकर्तादेखि नेताहरुका लागि पर्व जस्तै मानिने पार्टी महधिवेशनलाई कसरी सफलतापूर्वक सभ्य र भव्यरुपमा सम्पन्न गर्ने भन्नेतर्फ ध्यान दिन छाडेर महाधिवेशन प्रभावित पार्न गरिने नियोजित बखेडाबाजीले आम कार्यकर्ताको उत्साह, नयाँ नेतृत्व चयनको अवसरसँगै आगामी आम निर्वाचनमा पार्टीको भूमिकालाई समेत प्रभावित पार्ने कार्य कही कसैले पनि गर्न नहुने दाबी सभापतिहरुले गरेका छन् ।
मुलुकमा उत्पन्न विषम राजनीिितक, संवैधानिक, आर्थिक परिस्थितिबाट पार लगाउने जिम्मेवारी कांग्रेस र यसका सभापति एवं प्रधानमन्त्री देउवाको काँधमा अवसरका रुपमा आएकोबेला पार्टी र सरकारको नेतृत्वलाई असफल र कमजोर देखाउने मनसायले महाविधेशनको तिथि, मिति प्रभावित पार्ने कार्य कांग्रेसका लागि मात्र नभई सिंगो देश, जनता र जनताले हाँसिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान कार्यान्वयनका लागि पनि प्रत्युत्पादक हुने खतरा रहेको सभापतिहरुको निश्कर्ष छ ।
नेपाल पत्रकार महासंघले कोरोना महामारीका बीचमा पनि जिल्लादेखि प्रदेश र केन्द्रीय तहसम्मको महाधिवेशन सम्पन्न गरेको उदाहरण स्मरण गर्दै अन्य पेशागत संस्थाले अपनाएको विधि वा आधुनिक प्रविधिको प्रयोग वा अन्य बैकल्पिक उपायमार्फत सबै तहका अधिवेशन सम्पन्न गर्न किन सकिँदैन भन्ने प्रश्न सभापतिहरुले उठाएको बानियाँले बताए ।
उनीहरुले महाधिवेशन नहुने अवस्था सिर्जना गरेर पार्टीमा आस्थावान नेता कार्यकर्ताहरुलाई निरास बनाउने काम कहीँ कतैबाट हुन नहुनेतर्फ नेतृत्व वर्ग सचेत रहनुपर्नेमा समेत जोड दिएका थिए ।
शीर्ष नेतृत्व तहबाटै महाधिवेशन तत्काल सम्भव नभएको अथवा नयाँ क्रियाशील सदस्यता र पार्टी समायोजनमा टुंगिएको विषयमा बखेडा झिक्ने जस्ता गलत क्रियाकलापले नेतृत्वमा पुगिन्छ कि कि भन्ने सोचाई गलत भएको निश्कर्ष निकाल्दै महाधिवेशनको विषयमा भ्रम श्रृजना नगरी निष्पक्ष, सक्रिय र पारदर्शी ढंगले महाधिवेशनतर्फ अघि बढ्न सबैको ध्यानाकर्षण समेत गराएका छन् ।
कोरोना महामारीको जोखिम र पार्टीको भविष्यलाई मध्यनजर गर्दै सहमति, सहकार्य, एकता र व्यवहारिकतातर्फ उन्मुख हुँदै महाधिवेशनको प्रक्रियालाई अघि बढाउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेतृत्वहरुलाई जिल्ला सभापतिहरुले आग्रह समेत गरेका छन् ।
पछिल्लो पटक नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्दै त्यसका लागि वडा तहको अधिवेशन साउन १२ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
तर, क्रियाशिल सदस्यता विवाद समाधान नहुँदा वडा तहकै अधिवेशन हुन सकेको छैन । महाधिवेशनको कार्यतालिका र क्रिाशील सदस्यता विवादबारे छलफल र निर्णयमा पुग्न सभापति देउवाले साउन २८ गते पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
                        
                    
                प्रकाशित मिति: शनिबार, साउन २३, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    