एमाले अध्यक्ष ओलीपछि एमसीसी प्रतिनिधि मण्डलले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटे

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।
बिहीबार काठमाडौं आएकी सुमारसहितको एमसीसीको टोलीले सिंहदरबारमा अध्यक्ष नेपाल सहितका नेतासंग भेटवार्ता गरेको हो । भेटका क्रममा एमसीसी उपाध्यक्ष सुमारले आफु एमसीसी पारितका लागि दवाव दिन नभई यस बिषयमा छलफल गर्न र बुझ्न आएको बताएकी थिइन् ।
त्यस्तै अध्यक्ष नेपालले संयुक्त सरकारको गठबन्धनमा रहेकाले एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्ने र अन्यथा भए स्वीकार गर्न नसक्ने बताएका थिए । एमसीसीका बारेमा उठेका चर्चा परिचर्चालाई प्रष्ट पार्नुपर्नेमा उनको जोड रहेको समाजवादी नेता गंगालाल तुलाधरले बताए । भेटका क्रममा एमसीसीका बिषयमा उठेका बिषयमा सवालजवाफ भएको तुलाधरले जानकारी दिए ।
उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो भने शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय