हिमाल दैनिक
आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यी तीन दिन पूर्वमा मनसुन बढी सक्रिय हुने सम्भावना रहेको बताइएको छ । विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन÷ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का थोरै स्थानमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update