हिमाल दैनिक
प्रतिनिधि सभातर्फ १९ सिटका लागि उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादी (एस)का १० जना उम्मेदवार विजयी हुँदा वरिष्ठ नेता झलनाथ खनालबाहेक ८ जना पराजित भए। यसरी आएको परिणामप्रति उक्त पार्टीको शीर्ष नेतृत्वले असन्तुष्टि जनाउँदै गठबन्धन दल विशेषगरी नेपाली कांग्रेसका मतदाताबाट सोचेजस्तो मत नआउँदा अपेक्षाकृत परिणाम नआएको दाबी गर्दै सहयात्री दलप्रति रोष प्रकट गर्दैछन्। तर, देशभरीबाट आएको प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणामको तस्विरले उनीहरुको दाबीलाई पुष्टि गर्दैन। जस्तै उदाहरणका लागि नेकपा एसबाट बझाङमा उम्मेदवार बनेका भानुभक्त जोशीले २८,४१३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्धी एमालेका ऐनबहादुर महरले २७,४१२ मत प्राप्त गर्दै दोस्रो भए। यसैगरी डोटीबाट प्रेमबहादुर आले २७,२१० मत प्राप्त गरी विजयी भए भने अछाम १ बाट शेरबहादुर कुँबर, दैलेख १ बाट अम्बरबहादुर थापा, दाङबाट मेटमणी चौधरी विजयी भए। एमालेका निकटतम प्रतिद्वन्द्धीलाई पराजित गर्दै निर्वाचित भएका नेकपा एसका उम्मेदवारहरुको पार्टीले उनीहरुकै गृहजिल्लाबाट समानुपातिक प्राप्त गरेको मत संख्या र त्यसको आधार हेर्ने हो भने, गठबन्धनको मतविना उनीहरु निर्वाचनको गणनामै नआउने स्थिति देखाउँछ। जस्तै, जोशी निर्वाचित भएको जिल्ला बझाङमा उनको पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ जम्मा ४,८६३ मत पाएको छ भने, कांग्रेसका २० हजार ९३ र माओवादी केन्द्रको ८,५१६ मत छ। यसैगरी डोटीमा नेकपा एसले समानुपातिक तर्फ २३७३ मत पाएको छ भने कांग्रेसले २२,५१६ मत र माओवादीले ६,९२४ मत पाएको छ। त्यस्तै अछाम १ मा नेकपा एसको मत जम्मा २,७४७, दैलेख १ मा ४,२४१ मत तथा दाङ १ मा ३,२१८ मत पाएको छ। यसैगरी, प्रकाश ज्वालाले विजय प्राप्त गरेको जिल्ला सल्यानमा पनि नेकपा एसको समानुपातिक मत जम्मा ५,९७० मात्रै छ जहाँ कांग्रेस र माओवादीको मत क्रमशः १९ हजार र २१ हजार ज्यादा छ। नेकपा एसका उम्मेदवार धनबहादुर बुढा विजयी भएको डोल्पामा पनि उक्त पार्टीको समानुपातिक मत १८२४ मत मात्रै छ जहाँ, कांग्रेस र माओवादीको ३५ सय र ४७ सय माथि छ। उक्त पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठले जित हाँसिल गरेको बारा–४ मा पनि उनको दलले समानुपातिकतर्फ ४६ सय ९१ मत पाएको छ। यतिसम्म कि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल स्वयं निर्वाचित भएको क्षेत्र रौतहट १ मा प्रतिनिधि सभातर्फ जम्मा ३५ सय १९ र प्रदेशतर्फ १०,९२९ मत पाएको छ। अर्थात यी सबै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्राप्त गरेको मत अरु दलको तुलनामा नै आउँदैन। प्रत्यक्ष तर्फ अरु दलले मत नदिएको भए उनीहरुमध्ये विरलै उम्मेदवारको जमानत सुरक्षित हुने थियो होला। तर, पनि यो तितो यथार्थलाई न त नेकपा एसका नेताहरुले नै बुझ्ने कोशिश गर्दैछन् न गठबन्धनका सहयात्री दलका नेताहरुले नै बुझाउन जरुरी ठान्दैछन्। उता अपेक्षाकृत परिणाम नआएका एसका उम्मेदवारद्वा विरोध खतिवडा र चर्चित उम्मेदवार रामकुमारी झाँक्रीदेखि वर्तमान सरकारका मन्त्री जीवनराम श्रेष्ठको क्षेत्रमा उनीहरुले पाएको मत र उनीहरुको दलले समानुपातिक तर्फ प्राप्त गरेको मतले सबै तस्विर स्पष्ट पार्दछ। जस्तै खतिवडाको क्षेत्रमा उनले ३०,४३२ मत प्राप्त गरेर पनि एमाले उम्मेदवारसँग पराजित भए भने काठमाडौं ८ बाट जीवनराम ४,८८१ मत प्राप्त गरी पराजित भए। यसैगरी झाँक्री गुल्मी २ मा २६,४४१ मत ल्याएर पनि एमाले उम्मेदवार गोकर्ण विष्टभन्दा करिब २ हजार मत कमको अन्तरले पराजित भइन्। जबकि यी क्षेत्रहरुमा नेकपा एसले समानुपातिक तर्फ मकवानपुर २ मा ३ हजार ४१ काठमाडौ ८ मा ११ सय ६९ तथा गुल्मी २ मा १६ सय ३ मत प्राप्त गर्न सफल भएको छ। यस आधारमा भन्ने हो भने, नेकपा एसका एकाध नेताबाहेक गठबन्धनको सहयोग बिना कुनैको पनि जमानत सुरक्षित हुने स्थिति देखिदैन भन्ने तितो सत्य उक्त पार्टीका नेताहरले कहिले थाहा पाउलान्?
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update